काठमाडौं । दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ब्रिगेड अफ गोर्खाजमा नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो ।
लडाइँमा प्रत्यक्ष उत्रन पाउने गरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती सरकारले जनाएको छ । आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्रक्रिया पार गरे सन् २०२० सम्म बेलायतमा इन्फेन्ट्री तालिमका लागि आउन सक्ने अपेक्षा त्यहाँको सरकारले गरेको छ ।
ब्रिटिसको सन्डे टाइम्स समाचारपत्रका अनुसार अहिले ब्रिगेड अफ गोर्खाजमा ३ हजार गोर्खा सैनिक कार्यरत छन् । महिला भर्तीपछि यो संख्या ३ हजार ८ सय पुग्ने अनुमान छ ।
पोखरामा गरिने भर्ना प्रक्रिया सहज भने छैन । शारीरिक बनावट आकर्षकमात्र होइन, आवेदन दिएका महिलाले २५ केजी बालुवा डोकोमा बोकेर झन्डै पाँच किलोमिटर उकालो दौडिनुपर्छ ।
अन्य कठिन अभ्यास पनि छन् । पोखरामा छानिएर आइसकेपछि बेलायतको नर्थ योर्कसायरस्थित क्याट्रिकमा १० साताको प्रशिक्षण पार गरेपछि मात्र योग्य हुने प्रावधान छ ।
ब्रिगेड अफ गोर्खाजमा सैनिक संख्या न्यून हुँदै जाँदा उक्त संगठन बलियो बनाउन महिलालाई पनि भर्ना लिने निष्कर्षमा बेलायत सरकार पुगेको बताइएको छ। सन् १८१५ मा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सम्झौताअनुसार नेपाली पनि ब्रिटिस सेनामा भर्ना हुन थालेका हुन् ।
गोर्खाहरूप्रति बेलायती राजपरिवारको विशेष भरोसा छ । बेलायती राजकुमार ह्यारीले दि गोर्खा राइफल्स फस्ट बटालियनका साथ सन् २००७ देखि २००८ सम्म अफगानिस्तानमा काम गरेका थिए ।
बेलायती रक्षामन्त्री गेभिन विलियमसनले बेलायती महारानीको रक्षार्थ लामो समयदेखि खटिएका गोर्खाहरू विश्वमै उत्कृष्ट लडाकु दस्ता भएको बताउँदै यस्तो विशिष्ट समूहमा महिलालाई उचित अवसर भएको बताएका छन्।
महिला भर्तीबारे नेपाल सरकारलाई भने औपचारिक जानकारी आइनसकेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए।
भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई ब्रिगेड अफ गोर्खाजमा महिलालाई समेत लिने कुरा आउनु खुसीको कुरा भएको बताको खबर आजको कान्तिपुरमा छ ।
प्रतिक्रिया