काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारका पछिल्ला निर्णय र गतिविधिका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रतिपक्षीय भूमिका प्रभावकारी हुन नसकेको आरोप खेपिरहेका बेला कांग्रेसको मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले साउन ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
सरकारले डा गोविन्द केसीसंँग भएको सम्झौता अनुसारको चिकित्सा विधेयक संसदमा नल्याएको विरोधमा कांग्रेसले संसद अवरोध गर्दै आएको छ । यही मुद्दालाई केन्द्रविन्दुमा राखेर उसले सडक आन्दोलनको घोषणा गरेको हो ।
सरकार जनवादी केन्द्रियताको शैलीमा अघि बढेको ठहर समेत कांग्रेसले गरेको छ । कांग्रेसको निर्णय अनुसार ३ गते संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्ने निर्णय छ ।
सोही दिन प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुश प्रदर्शन गर्ने निर्णय कांग्रेसको छ । ५ गते तरुण दलको नेतृत्वमा नेतृत्वमा राजधानीमै प्रदर्शन हुनेछ ।
जसमा सबै भातृसंस्थालाई प्रदर्शनमा सहभागी र समन्वयका लागि पार्टी सभापति देउवाले निर्देशन दिइसक्नु भएको छ । ६ गते बीपी दिवसका अवसरमा राजधानीमै सरकारका क्रियाकलापलाई लिएर अन्तरक्रिया गर्ने कार्यक्रम राखेको छ ।
यस्तै ८ गते भक्तपुर, ललितपुर र काठमाडौं कांग्रेसको संयुक्त नेतृत्वमा प्रदर्शन गर्ने र १५ गते ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन गर्ने निर्णय छ ।
प्रतिक्रिया