काठमाडौं। नौं सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि आवश्यक उपकरण आयात हुन थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलन्यास गरेको ९०० मेगावाटको आयोजनाको निर्माण भने वर्खा सकिएपछि सुरु हुनेछ। आयोजनाको प्रवर्द्धक सतलजका लागि नेपाल प्रतिनिधि हरेराम सुवेदीले भने, वर्षात सुरु भइसकेकाले आयोजनाको काम भने सुरु हुन सकेको छैन।
उनका अनुसार विगत लामो सयमदेखि आयोजना पहुँचमार्ग निर्माणमै अल्झिएको छ।निर्माण गरिएको पहुँचमार्गमा पनि पहिरो आउँदा मेशिनरी उपकरण बोकेका ट्रकहरु बाटोमा फस्छन्। सुवेदीले भने, पहिरो हटाएर गाडीलाई आयोजना स्थलसम्म पुर्याकउँदा बाटोमा फेरी पहिरो गइसकेको हुन्छ। पहिरो हटाउने र ट्रक पास गर्ने काम मात्रै भइरहेको छ।
वर्षातको समय भएकाले पुल निर्माणको काम पनि रोकिएको छ। सम्भवत आगामी सेप्टेम्बर पछि मात्रै आयोजनाको मूख्य निर्माण कार्य सुरु हुने सुवेदी बताउँछन्। सेप्टेम्बरसम्म आयोजनाको सिभिल निर्माणको लागि आवश्यक उपकरणहरुको आयात गर्ने आयोजनाको लक्ष्य छ।
अरुण तेस्रोको प्रवर्द्धक सतलजले आयोजनाबाट प्रभावित स्थानीयवासीलाई घरजग्गाको मुआब्जा वितरण गरिसकेको छ। आयोजनाको बाँध र पावर हाउस निर्माणस्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण गरेपनि वर्षातमा आएको बाढी र पहिरोले बाटो अवरुद्ध गरेको छ।
संखुवासभामा आयोजनास्थल रहेको उक्त आयोजनाको कूल लागत एक खर्ब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। लगानी बोर्डले गत वैशाख २० गते सतलजलाई विद्युत् उत्पादन अनुमतिपत्र दिएको थियो।
लगानी बोर्ड र अरुण तेस्रोको प्रवर्द्धक कम्पनी सतजलबीच २०७१ मंसिर ९ गते परियोजना विकास सम्झौता भएको थियो। वन क्षेत्रको जग्गा प्रयोग, पहुँचमार्ग निर्माण तथा मुआब्जा वितरणमा लामो समय लागेका कारण आयोजनाको तीन पटक म्याद थपिसकिएको छ।
सरकारले २०५२ सालमा विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा उक्त आयोजना निर्माण गर्ने तयारी गरेको थियो। तर राजनीतिक अस्थिरता र विवादका कारण विश्वबैंकले आयोजनाबाट हात झिकेको थियो।
प्रतिक्रिया