काठमाडौं : जुम्लामा अनशनरत डा.गोविन्द केसीको सन्देश सुनाउँदै सत्याग्रहको समर्थनमा शनिबार राजधानीको माइतीघर मण्डलबाट बानेश्वरसम्म जुलुस निस्कियो। केसीको सन्देशमा माफिया, डन नेता र भ्रष्टाचारमुखी चिकित्सा विधेयक ल्याइएको भन्दै फिर्ता नभएसम्म आमरण अनशन नरोकिने उल्लेख छ।
केसीले आफ्नो माग दुर्गमका उपेक्षित र निमुखा जनताको हितमा रहेकाले आफू विधेयक फिर्ता नभएसम्म अन्तिमसम्म अनशनमा रहने बताएका छन्। उनले यदी आफ्नो स्वास्थ्यमा सरोकार छ भने आफ्ना माग तुरुन्त पुरा गर्न सरकारलाई भनेका छन्। भेलामा आक्रामक रुपमा प्रस्तुत भएका कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले नेपाललाई मेडिकल हब बनाउने मिठा कुरा गर्दैमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता संभव नहुने भनाइ राखे।
उनले नेपाललाई मेडिकल हब बनाउँछु भन्ने प्रधानमन्त्री केपी ओली ‘मेडिकल हब’ मानिने बंगलादेश नगएर उपचारका लागि किन थाइल्याण्ड गएको ? भन्दै प्रश्नसमेत गरेका छन्।
जुम्लामा आमरण अनशन बसेका डा.गोविन्द केसी बचाउ अभियानका लागि सडकमा निस्केको शान्तिपूर्ण जुलुसलाई सम्बोधन गर्नेक्रममा थापाले प्रधानमन्त्री ओलीप्रति पानीजहाजको प्रसंग जोडेर कटाक्ष पनि गरे। थापाले सत्यको पक्षमा उभिएकाहरूको टाउको नगन्न प्रधानमन्त्री ओलीसँग आग्रहसमेत गरे। ‘मेडिकल कलेज खोलेपछि विदेशी पढ्न आउँछन् र टन्न डलर कमाएर धनी हुन्छौं भन्ने भ्रम नपाल्नुस् प्रधानमन्त्रीज्यू, यो पानी जहाज जस्तो होइन। गुणस्तर कायम गर्न नसकेका दिन नेपालीहरू घरबारी बेचेर उपचारकै लागि भारत जाने दिन आउन सक्छ,’ थापाले भने, ‘डलर तिरेर पढिदिन्छन् भन्ने सोचाइ गलत हो। प्रमाणपत्र मात्रै किन्न आउने हो भने बंगलादेशको जस्तै हालत हुन्छ।’
चिकित्सा शिक्षा विधेयकको सही ढंगले सम्बोधन नहुञ्जेल केसीलाई कुनै शक्तिले हल्लाउन नसक्ने चेतावनी पनि थापाले दिए। केसीको स्वास्थ्य गम्भीर रहेको प्रसंग सुनाउँदै थापाले अघि भने, ‘डा.केसीलाई तलमाथि नहोस ्। म प्रार्थना गर्छु। यदि सरकारले जिद्दी गरेर बस्यो र उनको जीवनमा तलमाथि भयो भने प्रधानमन्त्री मात्र होइन, सिंगो नेपाल अपराधबोधबाट मुक्त हुन सक्दैन।’
राजनीतिक व्यक्तिको दाँजोमा निष्ठापूर्वक लागेका डा.केसीको जीवन धेरै मूल्यवान भएको भन्दै उनले केदारभक्त माथेमा समितिले तयार गरेको प्रतिवेदन अक्षरसः कार्यान्वयनका लागि संसद्मा पेस गर्न मागसमेत गरे। संसद्मा कतिपयले डा.केसी को हो ? भन्दै प्रश्न गर्ने गरेको सुनाउँदै उनले भने, ‘केसी एक जोगी हुन्। फकिर हुन्। हिम्मत छ भने जागिर छोडेर आऊ भन्नेहरू पनि छन्’, बानेश्वरमा आयोजित सभामा भने, ‘जसले जिन्दगी छाड्छु भनेको छ। उसलाई जागिरको केको चिन्ता ? डा. केसी फकिर हुन्। पार्टीको झन्डा नबोकेरै पनि हिँड्न सक्छन्।’
ताप्लेजुङ, दार्चुलाका सांसदहरूले समेत काठमाडौंमा मेडिकल कलेज खोल्न पाउनुपर्छ भनेको प्रसंग सुनाउँदै आफ्नो जिल्लामा डाक्टर जाँदैनन् भन्ने नबिर्सन ति साँसदलाई थापाको आग्रह थियो। सरकारले ल्याएको विधेयक पास गर्ने हो भने थप २० वटा मेडिकल कलेज काठमाडौंमै खुल्ने र विशेषज्ञ डाक्टरहरू काठमाडौं छाडेर जिल्ला नजाने दाबी उनको थियो। शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई जुम्ला पनि नेपालमै पर्छ भनेर सम्झाउन आफू मञ्चमा नउभिएको भन्दै थापाले व्यङय पनि गरे। थापाले दश वर्ष काठमाडौंमा मेडिकल कलेजलाई स्वीकृति दिनु हुँदैन भन्ने माग केसीको नभै माथेमा आयोगको प्रतिवेदनको सिफारिस रहेको स्मरण पनि गराए। आगामी दश वर्षसम्म काठमाडौंमा थप मेडिकल कलेज खोल्न नहुने र एउटा विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने विषय माथेमा कार्यदलको निचोड रहेको भनाइ थापाको थियो। यसपछि अब कुनै पनि आयोग नबन्ने र माथेमा आयोग नै चिकित्सा शिक्षाको सबैभन्दा ठूलो ज्ञानको स्रोत भएको भनाइ थापाको थियो। ‘काठमाडौंमा थप मेडिकल कलेज चाहिएको छैन। काठमाडौं र त्रिभुवन विश्वविद्यालयले थप सम्बन्धन दिन नसक्ने बताइरहेका छन्। प्रधानमन्त्री तथा शिक्षामन्त्री जति दिए पनि हुन्छ भन्छन्। तपाईंको ज्ञानको स्रोत के हो ? ’, थापाले प्रश्न सोधे र भने, ‘विदेश पठाउनेको धन्दा केसीकै कारण बन्द भएको छ। नेपालको विश्वविद्यालयमा मेडिकल प्रवेश परीक्षा पास नगरी पढ्न जान पाउँदैन भनेपछि नै संख्या घटेको हो। दुई हजारबाट घटेर एकैपटक चार सयमा आएको छ।’
माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन ल्याउँदा कद नघट्ने भन्दै त्याग देखाउन थापाको प्रधानमन्त्री ओलीसँग आग्रह थियो। चिकित्सक पढ्न गएकामध्ये ९० प्रतिशत विद्यार्थी नभई छात्रवृत्तिमा गएको दाबीसमेत थापाको थियो। आफ्ना गाउँका अस्पतालमा डाक्टर नगएको भनेर संसदमा गुनासो पोख्ने सांसदलाई डा.केसीको पक्षमा उभिनसमेत थापाको आग्रह थियो।
चिकित्सा शिक्षा कार्यदलका संयोजक डा.केदारभक्त माथेमाले अहिलेको सरकार आमजनताको हितमा नलागी सीमित व्यक्तिको स्वार्थमा हिँडेको आरोप लगाए।
‘हामीले चिकित्सा शिक्षालाई कसरी गुणस्तरीय बनाउने भनेर सुझाव दिएका हौं। सरकारले हचुवाको भरमा पन्छाउन खोजेको छ’, भेलामा माथेमाले भने। दुई तिहाईको सरकार जनताको हितमा नदेखिएको गुनासो माथेमाको थियो। ‘दुई तिहाइको सरकारले जनताको आशा मारेको छ। चिकित्सा शिक्षाको गुणस्तरमाथि जानपर्छ भन्ने प्रतिवेदनको मुख्य लक्ष हो’, माथेमाले भने, ‘गुणस्तरमा कुनै सम्झौता हुन सक्दैन।’
काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज र अस्पताल बढी भएका कारण बिरामीको संख्या मेडिकल कलेज खोल्न पुग्ने अवस्थामा नरहेकाले दुर्गममा खोल्न उपयुक्त हुने भनाइ उनको थियो। आफूले बनाएको प्रतिवेदन गलत भए तथ्यसहित जनतालाई बुझाउन माथेमाको चुनौति थियो। ‘त्यसो भयो भने हामी स्वीकार गर्ने छौं’, माथेमाले भने, ‘नेता उपचार गर्न देश बाहिर जान्छन्। जनता गरिब छन्। विदेश जान सक्दैनन्। त्यसैले हामीले बाँच्नका लागि गुणस्तरीय स्वास्थ्य चाहिन्छ भन्न पनि नपाउँने ? ’
केसी बचाउ आन्दोलनका अभियन्ता वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद्लाई नियन्त्रणमा लिन खोजेको आरोप लगाए। उनले सरकारले एकतर्फी रुपमा अध्यादेश ल्याउन खोजेको आरोप पनि लगाए। ‘तपाईंहरूले संसदलाई डिक्टेट गरिरहनुभएको छ। तपाईंहरू संसद्को डिक्टेटर हो,’ भण्डारीले चेतावनी दिँदै भने, ‘डा.केसीको पक्षमा आन्दोलन लहडमा उठेको होइन। यो नागरिकको आवाज हो। विधेयक जबसम्म फिर्ता हुँदैन तबसम्म वार्ता हुन सक्दैन।’
एमबीबीयस पढ्दा जति पनि पैसा लिन पाउने गरी सरकारले माफियाहरूको हितमा काम गरेको भनाइसमेत भण्डारीले राखे। विधेयकमा प्रत्येक प्रदेशमा एक–एक मेडिकल कलेज हुनुपर्छ भन्ने माथेमा प्रतिवेदनको व्यवस्थालाई हटाइएकोप्रति उनको असन्तुष्टि थियो। भेलालाई डा.अभिषेक सिंह र डा.जीवन क्षेत्रीलगायतले डा.केसीको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरे। ‘विधेयकमा प्रत्येक प्रदेशमा एक–एक मेडिकल कलेज हुनुपर्छ भन्ने व्यवस्थालाई हटाइएको छ। यस्तो विधेयक जबसम्म फिर्ता हुँदैन तबसम्म वार्ता हुन सक्दैन’, भण्डारीले भने।
माइतीघरमै नाक, कान, घाँटीको उपचार
यता डा.केसीको समर्थनमा माइतीघरमण्डलमा उपस्थित चिकित्सकहरूले जुलुसमा सहभागीका आँखा, नाक, कान, घाँटी जाँचेका थिए। केसीका माग पूरा नहुञ्जेल खुला चौरमै ओपीडी सेवा जारी रहने भनाइ चिकित्सकहरूको छ। यसैबीच नेपाल चिकित्सक संघले केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै यथाशीघ्र माग सम्बोधन गर्न दलहरूको ध्यानाकर्षण गराएको छ। यता निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै प्रहरीले शनिबारै मानवअधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीसहित ३१ जनालाई हिरासतमा लिएर छाडेको छ।
अनशनरत डा. केसीको समर्थनमा बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय अगाडी गरेको धर्ना र प्रदर्शनबाट प्रहरीले कृष्ण पहाडी, डा.गंगाधर अधिकारी, कृष्ण कँडेल, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुककृष्ण ढुंगेल लगायतलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो। सरकारले स्वेच्छाचारी र स्वतन्त्रता विरोधी गतिविधि देखाएको उनीहरू भन्दै प्रदर्शनमा उत्रिएका थिए।
‘अनशन तुरुन्त तोड्छु’
नमस्ते उपस्थित महानुभावहरू। अहिले जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोल्दैछु। म जुम्लामा सत्याग्रहमा छु। हामी जुम्लामै किन सत्याग्रह गर्नुपर्यो भने, हामी एक दशकदेखि लडिरहेका छौं, गाउँ गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुगोस्, गाउँका निम्न वर्ग, निम्न, मध्यम वर्ग र विपन्न वर्गले पनि नर्स, स्वास्थ्यसम्बन्धी विज्ञहरू, स्वास्थ्य कार्यकर्ताहरू बन्न सकुन्। त्यसका निम्ती पढ्न सकुन्। त्यस्तो खालको ऐन बनोस्।
जबकी नेपालको ८० प्रतिशतभन्दा धेरै जनसंख्या अपहेलित छ। उपेक्षित छ। त्यसैकारणले जुम्लाभन्दा अन्य उपयुक्त हुनै सक्दैन। जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको आठ वर्ष भइसक्यो। तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। कर्णाली क्षेत्र राज्यबाट सबैभन्दा बेसी उपेक्षित क्षेत्र पनि हो। यहाँका मान्छे गरिब छन्। यहाँका मान्छे बेरोजगार, अशिक्षित छन्। यहाँ कुनै ठूलो स्वास्थ्य संस्थाहरू, मेडिकल कलेजहरू छैन। आठ वर्ष भयो अहिलेसम्म प्रतिष्ठान सञ्चालनमा आएको छैन। यदि त्यो सञ्चालनमा आएको भए यहाँका मान्छे डाक्टर बन्थे, नर्स बन्थे, यहाँका मान्छे स्वास्थ्य विज्ञ बन्थे, स्वास्थ्य कार्यकर्ताहरू बन्थे। यो क्षेत्रमा स्वास्थ्य सेवा गर्थे, स्वास्थ्य सेवाको गुणस्तर बढ्थ्यो। यहाँका मान्छेले स्वास्थ्य सेवा पाउँथे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सबैले गुणस्तरीय स्वास्थ्य सेवा पाउँथे। प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउँथे। यो ठाउँको समग्र विकास हुन्थ्यो। तर, अहिलेको सरकार जसले उनीहरूलाई भोट दिएर दुई तिहाई बहुमत ल्याउन मद्दत गरे, उनीहरूको हक हितकाविरुद्ध माफिया, डन नेताहरू पोस्ने खालको ऐन ल्याइँदैछ। हामीले आन्दोलन गरेर जनतामुखी र विद्यार्थीमुखी अध्यादेश बनेको थियो। त्यो अध्यादेशलाई तोडमोड गरेर माफिया, डन, माफिया नेता र भ्रष्ट नेतामुखी ऐन ल्याउन लागि राखेको छ। त्यसैको विरुद्ध मैले यो सत्याग्रह सुरु गरेको हुँ।
अर्को कुरा म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सक्षम, दक्ष डाक्टरहरू छन्। हाल यहाँ विशेषज्ञ जनशक्तिको कमी छ। त्यो सरकारको कमजोरी हो। सरकारको उदासिनताले भएको हो। यहाँ भएका डाक्टर सक्षम छन्। मेरो यहाँ राम्रो हेरचाह भइरहेको छ। त्यसैले म यही नै सत्याग्रहलाई निरन्तरता दिइराख्छु, जबसम्म माग पूरा हुँदैन। तर, सरकारको तर्फबाट विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर काठमाडौं लगेर यो सत्याग्रह तुहाउने प्रयास हुँदैछ। मेरो स्वास्थ्यको सरोकार राख्ने भए मेरो माग तुरुन्त पूरा गर। म अनशन तुरुन्त तोड्छु।
यति सामान्य कुरा छ। त्यसकारणले जबसम्म मेरो माग पूरा हुँदैन, मेरो मागमा थुपै मागहरू छन्, त्यसमा चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड नगरीकन यथारुपमा पारित हुनुपर्छ र कर्णाली स्वास्थ्य विज्ञान तुरुन्त पुनः सञ्चालनमा ल्याउनुपर्छ। भ्रष्टाचार आयोगले दोषी पाएकाहरूलाई कारबाही गर्नुपर्छ। शिक्षामा राजनीतिक भागबन्डा र राजनीतिक हस्तक्षेप अन्त्य गर्नका लागि परासर कोइरालाले दिएको प्रतिवेदन तुरुन्तै कार्यान्वयन गर्नुपर्छ। त्यसका साथसाथै अन्य मागहरू पनि पूरा गर्नुपर्छ। (भेलामा सुनाइएको डा.केसीको भिडिओ सन्देश)
प्रतिक्रिया