काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जुम्लामा आमरण अनसन बसेका डा. गोविन्द केसीलाई बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौँ ल्याउने बताएका छन् ।
शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले वार्ता भन्दा पनि पहिलो प्राथमिकता उनको स्वास्थ्य सुधार गर्नु रहेको उल्लेख गर्दै केसीले आउन नमाने बल प्रयोग गरेर भएपनि काठमाडौँ ल्याउने बताए ।
‘पहिलो प्राथमिकता स्वास्थ्य हो, स्वास्थ्यमा सुधार भएमा मात्रै वार्ता गर्न सकिन्छ, अस्वस्थ व्यक्तिसँग वार्ता हुदैन । डाक्टर केसीलाई बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौँ ल्याउछौ । सञ्चारकर्मीलाई आग्रह गर्दै उनले भने, त्यतीबेला बल प्रयोग भयो भनेर नलेख्नुस्।’
तर डा. केसीले काठमाडौं नआउने र जुम्लामा पनि उपचार नलिने अडान लिएका छन् । मन्त्री पोखरलेले डा. केसीलाई लिन शुक्रबार नै एक टोली पठाउने तयारी गरिएको पनि जानकारी दिए।
उनले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गरे। मन्त्री पोखरेलले अहिले डा. केसीलाई एक पक्षले उचाल्ने र बहकाउने गरेको पाईएकोले त्यो नगर्न आग्रह गर्दै उनको अनसन तोडाउन र समस्याको समाधान गर्न सबैले सहयोग गर्न आग्रह गरे।
डा. केसीका मागहरु सम्बोधनका लागि एक शक्तिसाली आयोगको परिकल्पना गरिएको र त्यसले समाधान ल्याउने उनले बताए ।
प्रतिक्रिया