देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘देउवा सरकारले गरेको नियुक्ती खारेज गर्ने सरकारको निर्णय कानूनी शासनमाथिको आक्रमण’

देशान्तर

काठमाडौं । सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सरकारी नियुक्ती खारेज गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समयमा निर्वाचन आयोगको सहमति लिएरै गरेको राजनीतिक नियुक्तिहरु खारेज गर्नु कानुनी व्यवस्थाको विपरीत रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

‘शेरबहादुर देउवा जननिर्वाचित व्यवस्थापिका संसदबाटै निर्वाचित प्रधानमन्त्री भएको, उहाँको मन्त्रिपरिषदले आचारसंहिताका बेलामा भएको आवश्यक नियुक्ति पनि निर्वाचन आयोगको सहमतीमा भएको हो । यसरी कानूनसम्मत् तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानूनी व्यवस्थाको खिलापमा भएकोले सरकारको यो निर्णयको नेपाली कांग्रेस निन्दा गर्दछ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्ता निर्णयले कानुनी शासनको आधारशीलामाथि आक्रमण गर्ने र कानुनी राज्यको अवधारणालाई नै कमजोर बनाउने भन्दै कांग्रेसले यसलाई तत्काल फिर्ता लिन माग गरेको छ । ‘यस्ता निर्णयले कानूनी शासनको आधारशिलामाथि आक्रमण गर्दै कानूनी राज्यको अवधारणालाई कमजोर बनाउने स्पष्ट मनसाय यो सरकारले देखाएको छ । नेपाली कांग्रेस पार्टी सरकारको यो गैरकानूनी निर्णयको विरोध गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग गर्दछ’ कांग्रेसले भनेको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले १४ भदौपछि निर्वाचन आचार संहिता जारी भएको अवस्थामा सरकारले गरेको सबैखाले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबाट प्रदेश प्रमुख, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च निकायका पदाधिकारीहरुको समेत पद धरापमा परेको छ ।