देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता केसी गंगामायाको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी मानवअधिकारकर्मी सहित छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्नका लागि बीर अस्पताल पुगेका छन् । उनको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३४ औं दिनमा आइपुग्दा थप बिग्रिएको हो ।  शरीर सुन्निदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ ।

अधिकारकर्मी कनकमणि दीक्षित, चरण प्रसाईं, डा. केदारनरसिंह केसीसहित आइसियु कक्षमा पुगेका कांग्रेस नेता केसीले गंगामायासँग कुरा गर्न खोजे पनि उनले कुनै प्रतिक्रिया दिइनन् । अधिकारकर्मी प्रसाईंले गंगामायालाई नेता केसीले यसअघि संविधानसभामा कृष्णप्रसाद अधिकारीको हत्याका बारेमा पहिलो पटक आवाज उठाएको भनिरहँदा भने गंगामाया एकटकले नेता केसीलाई हेरिरहिन् । अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस नेता केसीको भनाइ थियो । उनले गंगामायाको मुद्दालाई जनस्तरमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै मानवअधिकारवादी र कांग्रेसको भ्रातृ संगठन नेविसंघलाई दववामूलक ढंगबाट परिवेश निर्माणमा लाग्न आग्रह गरे । ‘विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड हो । विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई  अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यो अत्यन्तै दुःखद र निरंकुशतावादी मनोवृतितिर शासन सत्ता अगाडि बढेको देखिन थालेको छ,’ आइसियु कक्षबाट बाहिरिएपछि नेता केसीले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने ।

अधिकारकर्मी प्रसाईंले संविधानले दिएको अधिकार माग्दा पनि सरकारले त्यसतर्फ ध्यान नदिएर मानवअधिकारको खिल्ली उडाएको प्रतिक्रिया दिए । प्रसाईंले गंगामायाको ज्यान तलमाथि भए त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले लिनुपर्ने पनि बताए ।  २०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बसेकी थिइन् ।  छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो ।