डा. ध्रुवचन्द्र गौतम
एकेडेमीको कुरा अलिक पेचिलो हुँदै गएको होइन र ? बजेटमा अर्थमन्त्रीले एउटै एकेडेमी बनाउने अर्थात् तीनटालाई गाभेर एउटै भन्नुभयो । पछि पब्लिक मत विपरीत देखिएछ क्यार, संस्कृतिमन्त्रीले भन्नुभयो, तीनवटै एकेडेमी रहन्छ, बजेट छुट्याइसकिएको छ । लेखक–कलाकार सबैले राहतै महसुस गरे । अब फेरि संस्कृतिमन्त्री भन्दै हुनुहुन्छ रे, छलफलबाट निर्णय हुन्छ । यसले पेंच लगाएन त ? अब फेरि सुनिँदै छ, ठाउँठाउँमा विद्वान जम्मा गराएर बहस गराइँदै छ, तीनटा एकेडेमी किन चाहियो ? विद्वान जम्मा गराउँदा यो ध्यान अवश्य राखिएको छ रे, निष्पक्ष भेला देखियोस् । अर्थात् जसको सरकार छ, उसकै मात्र विद्वान नदेखिऊन्, तर मेजोरिटी भने तिनकै रहेछ । भाले त फेरि भाले नै हुनुप¥यो नि । अब ती बिना माइक नै फुकिरहेका छन् रे कि प्रदेश प्रदेशमा एकेडेमी भएपछि, यहाँ किन चाहियो बलियो एकेडेमी ? विल्डिङ मात्र त ठूलो हो नि, बनाउन त लिखुरे एकेडेमी बनाइदिए भैगो नि । यी भाले त भाले नै भइरहेका छन् पार्टीको वजनले । तर यी ब्रोइलर भाले हुन् ।
……..
एकेडेमी त अब बन्छ नै, जस्तो बनोस्, जसरी बनोस् । तर कोही ‘जेनुइन’ विद्वान छ भने, त्यस्तो कसैले त्यहाँ जाने नचिताए हुन्छ । आफ्नै मान्छे यतिका छन्, ‘जेनुइन’ खोज्न कता जानु ? केही समयअघि यिनै नेताले नारा दिएको सम्झनुहुन्छ ? हाम्रो होइन, राम्रो मान्छे चाहिन्छ । अहिले त्यही हुँदैछ । नारा त अब कसैलाई यादै छैन, तैपनि पार्टीको योग्यता अनुकूल क्याडर खोजीखोजी राखिँदै छ । नारा नभए पनि लागु भने भएकै देखिन्छ । कसरी भने, हाम्रो मान्छे नै राम्रो लगिदिन्छु, के गर्ने भन्नुस् ? अब हाम्रो मान्छे नै राम्रो छ भने अर्को राम्रोको के काम ? त्यसकारण एकेडेमीमा त्यही हुन्छ जुन हुँदै आएको छ । हाम्रो नै राम्रो, तुक पनि मिल्यो, सौन्दर्य पनि मिल्यो । ‘हाम्रो राम्रो, अरू चाम्रो’ यो उखान बनाउनु उपयुक्त देखिन्छ । अब तपाईं यो सोच्नु हुन्छ, त्यति सारो त नहोला ? सारो हुँदैन । सारोलाई त फेरि हालिन्छ । त्यसमा समावेशिता जस्तै एकात ‘जेनुइन’ आए हाम्रो भाग्य । होइन भने, ‘राम्रा’ले त त्यता आँखैसमेत नडुलाए भयो । संसारमा हुँदै नभएको अर्थात् हाम्रो संसारमा हुँदै नभएको सभ्यता कताबाट खोजेर ल्याउनु ? त्यति सभ्य बन्नु पनि किन परेको छ त हामीलाई ?
……..
यस्ता कुरा कति गर्नु ? जति गरे पनि हुन्छ । अब अर्को विषय, मलाई लागेको । दुवैतिरबाट रेल चल्ने भन्ने गरिन्छ । मलाई उचित लाग्यो । यो त विकाससित जोडिएको कुरो हो । विकास त भएकै राम्रो होइन र ? हाम्रो एउटा रेलको जमाना थियो । रक्सौलदेखि अमलेखगन्जबाट रेल चल्दथ्यो । मलाई त रेलले पनि जीवनमा धेरै सिकाएको छ । तर रेल चल्नु त राम्रो हो । अहिले हाम्रोतिर रेलको जमाना छैन । फेरि हुन्छ भने राम्रै हुन्छ भन्ने ठानेको छु । उता रेलले केरुङ पनि जोडिन्छ भने हाम्रो विकासको दर बढ्ने होइन र ? तर सुनिन्छ केही विशेषज्ञहरूको राय डिफर गरेको छ । उनीहरूको भनाइ छ, रेल विशेषज्ञ छैनन् हामीकहाँ, त्यस्तोमा अर्काको भरमा चलाउनु पर्ने हुन्छ, त्यो कति काम लाग्ला । म विशेषज्ञ त कतै पनि होइन तर रेल विशेषज्ञ नभए पनि, रेल–यात्रु त हुन सक्छु नै । त्यति योग्यता त छ । त्यसअनुसार नेपालमा पहिले पनि रेल चलेकै हो । सुरुमा त हाम्रा विशेषज्ञ कहाँ हुन्छन् त अर्काको आविष्कारको सुविधा लिँदा ?
ध.च. गोतामेको प्रख्यात उपन्यास पढ्ने पाठकलाई थाहा छ त्यसमा अमलेन्द्र भट्टाचार्य भन्ने एक पात्र छन् । लोकोमेटिभ इन्जिनियर । उनी बंगाली थिए । त्यसबखत त्यस्ता अमलेन्टुहरू धेरै थिए । वीरगन्जमै मैले देखेको थिएँ । कति मेरा साथी पनि थिए, तिनका छोराहरू । क्रमशः ती कम हुँदै गए । हामीले सिक्दै गयौं । हामी नै विशेषज्ञ भयौं । हवाईजहाज चल्दा पनि त्यस्तै भएको थियो । उसबेला धेरै पाइलट त बाहिरकै थिए । विस्तारै हामीले ट्रेनिङ लियौं, जान्दै गयौं, जान्ने भयौं, सारा हवाईजहाज हामी नै उडाउन थाल्यौं । त यस्तो त जे नयाँ गर्दा पनि हुन सक्छ । पछि हामीले खोजेजस्तै भइहाल्छ । मेरो विनम्र बुझाइ छ, बिना रेल विशेषज्ञ बनाएर रेल झिकाउनुभन्दा रेल चलाएर विशेषज्ञ हुनु राम्रो होइन र ? दुनियाँमा जहाँ पनि यस्तै हुने त हो नि । चाहे रेल चलाउँदा होस् वा हवाईजहाज के रकेट उडाउँदा नै होस् । त्यसकारण यी सबैभन्दा रेल आओस् तर आओस् बरु । हामी पनि चढ्न पाउँछौ कि भन्ने सोच्छु म त । हो त्यसको स्याहारसुहार राम्रो होस् । अहिले त जनकपुर–जयनगर मात्र छ हामीसँग देखाउनलाई । त्यसका पनि अनेक समस्या सुनिन्छन् । तर समस्याहरू आउँछन् भनेर रेलै नआओस् भन्न त भएन नि ? हेर्नुस् वीरगन्ज रेल्वे नभएको भए, अम्लेन्द्रु भट्टाचार्यजस्ता पात्र जन्मिँदैनथिए । पवनले त आफूलाई ‘यहाँदेखि त्यहाँसम्म’ मा कसैगरी प्रकट गथ्र्यो । तर अणु ? अणु जस्ती राम्री, असल पात्र कसरी जन्मिन्थी ? त रेलले साहित्य÷संस्कृतिमा पनि कति राम्रो असर पारेछ त ? लेखक भएको नाताले पनि रेल राम्रै भन्छु ।
प्रतिक्रिया