लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । केलिन एमबाप्पे चम्किएपछि पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले शानदार जित हासिल गरेको हो । फ्रान्सबिरुद्ध मुख्य गरी अर्जेन्टिनाको रक्षापंक्ति निक्कै कमजोर देखियो । गाव्रियल मार्काडो, मार्कोस रोहो, निकोलास ओटामेण्डी फ्रान्सबिरुद्धको कठिन परीक्षामा खरो उत्रन सकेनन् ।
बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले पनि आजको खेलमा प्रभाव जमाउन सकेनन् । सन् २००६ देखिका चारै विश्वकप खेलेका मेस्सीले नकआउट चरणमा गोल गर्न सकेका छैनन् । सम्भवतः अर्को विश्वकपसम्ममा उनी अर्जेन्टिनी टोलीमा हुने छैनन् ।यद्यपी उनले आजका दुई गोलका लागि बल उपलब्ध गराएका थिए ।
रुसको काजान एरिनामा फ्रान्सले खेलको १३औं मिनेटमै अग्रता लिएको थियो । अर्जेन्टिनाका डिफेण्डर मार्कोस रोहोले फ्रान्सका केलिन एमबाप्पेलाई डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसलाई एन्टोइन ग्रिजम्यानले गोलमा परिणत गरेका थिए । तर, ४१औं मिनेटमा फ्रान्सेली स्ट्राइकर एन्जेल डी मारियाले करिव ३० यार्ड टाढाबाट प्रहार गरेको शट आकर्षक गोलमा परिणत भएपछि अर्जेन्टिना खेलमा फर्कियो ।
पहिलो हाफमा एक एक गोलको बराबरी भए पनि दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लियो । लियोनल मेस्सीको पासमा गाब्रियल मार्काडोले गोल गरेपछि २-१ को अग्रता बनाएको अर्जेन्टिनाले त्यसलाई जोगाउन सकेन र त्यसपछि लगातार गोल खान पुग्यो ।
५७औं मिनेटमा लुकास हर्नाण्डेजको पासमा बेञ्जामिन पाभार्डले बराबरी गोल फर्काए । त्यसपछि ६४औं र ६८औं विश्वकै महंगा किशोर खेलाडी केलिन एमबाप्पेले गोल गरे । त्यसयता इन्ज्यूरी समयमा लियोनल मेस्सीको पासमा सर्जियो एग्यूरेले गोल गरेपछि ढिला भइसकेको थियो ।
प्रतिक्रिया