काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह डि को खेलमा अर्जेन्टिनाले नाइजेरियामाथि २–१ गोलको जित हात पार्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा आफ्नो स्थान बनाएको हो ।अर्जेन्टिनाको जितमा कप्तान लियोलन मेस्सी र मार्कुस रोजोले गोल गरे ।
कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान मेस्सीले खेलको १४औं मिनेटमा गोल गर्दै नाइजेरियाविरुद्ध अर्जेन्टिनालई १–० गोलको अग्रता दिलाएका थिए । खेलको ३४औं मिनेटमा कप्तान मेस्सीले प्रहार गरेको फ्रिकिक नाइजेरियाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
पहिलो हाफमा १–० गोलले अघि अर्जेन्टिना रहेको थियो । खेलको ५१औं मिनेटमा नाइजेरियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट नाइजेरियाका भिक्टोर मोसेसले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । अर्जेन्टिनाका लागि मार्कुस रोजोले खेलको ८६औं मिनेटमा गोल गर्दै २–१ गोलको जित दिलाएका हुन् ।
यसै समूहको अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा भने दुबै टिमले गोलरिहत बराबरी खेलेका थिए । तर दोस्रो हाफमा क्रोएसियाले २ गोल गर्दा आइसल्यान्डले १ गोल फर्काउन सक्यो । खेलको ५३औं मिनेटमा क्रोएसियाले गोल गर्दै अग्रता बनाएको थियो । तर खेलको ७६औं मिनेटमा आइसल्यान्डले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएको थियो । खेलको ९० औं मिनेटमा क्रोएसियाले गोल गर्दै २–१ गोलको जित हात पारेको हो ।
समूह डि बाट ३ खेलमा शतप्रतिशत जित हात पारेको क्रोएसिया समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले ३ खेलमध्ये १ खेलमा जित, खेलमा बराबरी र एक खेलमा हारसहित ४ अंक बनाएर उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा पुगेको हो ।
प्रतिक्रिया