देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप फुटबलमा आज चार खेल, अर्जेन्टिना भर्सेस नाइजेरिया

देशान्तर

काठमाडौँ । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तरर्गत आज पनि ४ खेलहरू हुँदैछन् । समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूले प्रतिस्पर्धा गर्दैछन् । खेल फिस्ट ओलम्पिक रंगशाला सोचीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ ।

पेरू प्रतियोगिताबाट बाहिरिसकेको छ भने अष्ट्रेलियाको सम्भावना कामयै छ । फ्रान्स भने अन्तिम १६ मा स्थान बनाउन सफल भइसकेको छ । अघिल्लो चरणको यात्रा तय गर्न अष्ट्रेलियालाई यो खेलमा जित्नैपर्ने दबाब छ ।

अघिल्लो चरणका लागि अष्ट्रेलियाले जितेर मात्र पुग्दैन अन्य टोलीको खेलमा पनि भर पर्नुपर्नेछ । यदी फ्रान्सले बराबरी खेलको खण्डमा पनि अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने छ । अष्ट्रेलियाको १, फ्रान्सको ६ र डेनमार्कको ४ अंक छ ।

आजै हुने दोस्रो खेलमा बेलुका पौने ८ बजे समुह सी कै डेनमार्क र फ्रान्स भिड्नेछन् । सो खेल लुज्निकी रंगशाला मस्कोमा हुनेछ । यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

राती पाने १२ बजेबाट सुरु हुने अर्को खेलमा समूह डी का अर्जेन्टिना र नाइजेरिया आमने सामने हुनेछन् । अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भएको थियो । २०१४ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनालाई अन्तिम १६ मा प्रवेश गर्न यो खेलमा जित्नैपर्ने दबाब छ ।

अर्जेन्टिना अहिले गर या मर को अवस्थामा छ । त्यसैले अर्जेन्टिनाले जितेर मात्र पुग्दैन अन्य टोलीको खेलमा पनि निर्भर हुनुपर्नेछ । यो समूहमा क्रोएसियाको ६, नाइजेरियाको ३ तथा अर्जेन्टिना र आइसल्याण्डको समान १–१ अंक छ । त्यसैगरी आजै पौने १२ बजेबाट रोस्टोभ एरिना सामरा रंगशालामा हुने अर्को खेलमा क्रोएसिया र आइसल्याण्ड खेल्दैछन् ।