काठमाडौं । मेक्सिकोको ओकाम्पो शहरमा एक जना मेयरका उम्मेदवारको हत्यामा संलग्न भएको आरोपमा शहरका पूरै प्रहरी पक्राउ परेका छन् ।
मेयरका उम्मेदवार ६४ वर्षीय फर्नान्डो अन्जेल्स् जुवारेजलाई गत विहिवार आफ्नै निवासअघि अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए । पश्चिमी राज्य मिकाकेनमा एक हप्ताभित्र मारिने व्यापारिक पृष्ठभूमिका एन्जेल्स् तेस्रो नेता हुन् ।
हत्याकाण्डमा संलग्न भएको आशंकामा संघीय सुरक्षाकर्मीले ओकाम्पो शहरका २७ प्रहरी अधिकृत र सार्वजनिक सुरक्षा सचिव अस्कर गोन्जालेजलाई पक्राउ गरेको छ ।
स्थानीय सुरक्षा सचिव गोञ्जालेजलाई पक्रन पुगेको संघीय प्रहरीलाई स्थानीय प्रहरीले रोकेपछि अर्को दिन थप संघीय सुरक्षाकर्मी पुगेर गोञ्जालेजसहित सबैलाई पक्राउ गरिएको हो ।
सरकारी अभियोजनकर्ताहरुले गोञ्जालेजसहित प्रहरी अधिकृतहरुको आपराधिक समुहसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । मेक्सिकोमा आगामी आइतवार १ हुने आमचुनाव अघि एक सयभन्दा बढी राजनीतिज्ञको हत्या भैसकेको छ ।
प्रतिक्रिया