देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनितिको गोल चक्करमा गुप्तचर

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको राजनीतिक अखडाका रूपमा प्रयोग भइरहेको गुप्तचर विभाग अन्ततः दलका कार्यकर्ता र मन्त्रीको सचिवालयका कर्मचारीको समेत दबाबमा पर्न थालेको छ ।

अन्य प्रहरी संगठन भन्दा बढी संवेदनशील मानिएको गुप्तचार विभागमाथि कस्को नियन्त्रण हुने भन्ने विषय टुंगिन नसक्दा अहिले विभागको अवस्था विगतका सरकार नियन्त्रित संस्थानहरूको जस्तै हुन पुगेको छ ।

पछिल्लो समयमा गुप्तचार विभाग भित्र हुने आन्तरिक बढुवा र सरुवाजस्ता कुरामा पनि राजनीति नै हाबी हुन थालेको छ । नेकपा अध्यक्ष ओलीले प्रधानमन्त्रीमा नियुक्ति भएदेखि नै यो विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले भने गुप्तचर विभाग गृहको मातहतमा नै राख्नुपर्ने अडान छाडेका छैनन् । यसअघि प्रधानमन्त्री र गृहमन्त्री अलगअलग पार्टीबाट भए पनि अहिले पार्टी एक भएपछि दुवैजना एकै पार्टीका भएका छन् ।

एउटै पार्टीको हुँदासमेत गुप्तचर विभागको विवाद सुल्झिएको छैन । जस्ले गर्दा हालै गुप्तचर विभागमा भएको बढुवामा पनि दुवै नेताको प्रभाव परेको छ । विभागले गत साता १० जना उपअनुसन्धान निर्देशक (एसपी) लाई सहअनुसन्धान निर्देशक (एसएसपी) मा बढुवा गर्दा पनि ठूलो राजनीतिक चलखेल भएको छ ।

मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र गृहमन्त्री थापाका बीचमा लामै लफडा चलेको स्रोत बताउँछ । उपअनुसन्धान निर्देशकलाई सहअनुसन्धान निर्देशकमा बढुवा गर्दा राष्ट्रपति कार्यालयले समेत चासो राखेको थियो । बढुवा विवादले गर्दा केही सक्षम उपअनुसन्धान निर्देशकहरू पछि परेका छन् ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि बसेको मन्त्री परिषद्को बैठकमा लामो विवाद पछि बढुवा हुनेहरूको सूचीमा गृहमन्त्री थापा हस्ताक्षर गर्न सहमत भएका थिए । उक्त बैठकले पहिलो नम्बरमा शरदबन्धु डीसीलाई राखेको छ । यसपछि भीमबहादुर बुढाथोकी, इन्द्रसिंह तामाङ, कृष्ण खनाल, किशोर श्रेष्ठ, माधव तिमल्सिना, अजयसिंह हमाल, सञ्जय यादव, ठाकुरचन्द्र केसी र यम पराजुली बढुवामा परेका छन् ।

जबकि यो बढुवा अघिल्लै साता हुनुपर्ने थियो । अघिल्लो बैठकमा ओली र थापाका बीचमा सहमति हुन नसकेपछि जेठ ३१ को मन्त्रिपरिषद्को बैठकमा उनीहरूलाई बढुवा गर्ने तयारी गरिएको थियो । तर, गृहमन्त्री थापाले प्रधानमन्त्रीसँग असहमति जनाएपछि ३१ गते बिहीबारको मन्त्रिपरिषद्ले विभागका तीन एसएसपीलाई मात्र डीआईजीमा बढुवा गरेको थियो ।

अहिले डीएसपीबाट एसपीमा बढुवाका लागि पनि उस्तै महाभारत भएको छ । डीएसपीबाट एसपीमा बढुवा गर्न ढिलाइ भएपछि अहिले बढुवाका आकांक्षीहरू नै राजनीतिक नेताको शरण खोज्न थालेका छन् । राजनीतिक चलखेलका कारण एक महिनाअघिदेखि पछि धकेलिँदै आएको डीएसपीहरूको बढुवामा राष्ट्रपति कार्यालयले पनि चासो देखाएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीलाई समेत आफूले सिफारिस गरेको व्यक्तिलाई पहिलो नम्बरमा बढुवा गर्नुपर्ने प्रस्ताव गरेको छ । राष्ट्रपति कार्यालयमा कार्यरत डीएसपी सुरेन्द्र कोइराला अरूभन्दा जुनियर हुन । अहिले विभागमा भएकामध्ये एसपी बढुवामा नवीन भट्टराई र मुकुन्द श्रेष्ठ सिनियर छन् ।

त्यसपछिको ब्याचमा पहिलो नम्बरमा बढुवा हुनका लागि टेकराज तिमिल्सना र सुरेन्द्र कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रपति कार्यालयमा कार्यरत कोइराला जुनियर भए पनि पहिलो नम्बरमा बढुवा गर्नुपर्ने दबाब राष्ट्रपतिको कार्यालयबाट आएपछि बढुवा रोकिएको छ ।