देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२५ प्रतिशत खिच्दा डेढ करोड झ्वाम !

देशान्तर

काठमाडौं । पूर्व मिस नेपाल निकिता चण्डकले डेब्यु गर्न लागेको फिल्म ‘रानीमहल’ छायांकनमै लफडामा परेको छ । फिल्मको सुटिङ रोकिएको छ । पाल्पाको रानीमहलमा खिच्दै गर्दा फाइनान्सियल लफडा सुरु भएपछि अनिश्चितकालीन सुटिङ पोस्टपोन्डसहित फिल्म टिम काठमाडौं फर्केको छ ।

फिल्मको हालसम्म २५ प्रतिशत मात्रै छायांकन सकिएको निर्माण टिमका एक सदस्यले बताए । २५ प्रतिशत छायांकनमा निर्देशकले ३७ दिन लगाएका छन् । निर्देशक हिमाल न्यौपानेले यो कुरा घुमाउरो पाराले स्वीकार गरे । सामान्यतः ३७ दिन भनेको नेपाली फिल्मको ‘अलमस्ट’ सबै छायांकन सकिने समय हो ।

तर अपत्यारिलो कुरा फिल्म निर्माण घोषणाको समयमा मिडियामाझ बोलिएको डेढ करोड बराबरको बजेट २५ प्रतिशत छायांकनको समयमा नै सकिएपछि निर्माण टिममा लफडा सुरु भएको हो ।

निर्माता (वेदप्रसाद) विमल भुसाल निकट स्रोतका अनुसार हालसम्म एक करोड ६० लाख रुपैयाँ ‘रानीमहल’ सेटमा खर्च भइसकेको छ । भुसालले निर्देशक न्यौपानेले अनावश्यक रूपमा पैसा सकाएको भन्दै अब फिल्मको बाँकी काम आफुले अघि बढाउन नसक्ने बोलेका छन् । निर्माताको यो कुरा सुन्दै गर्दा फिल्मको अबको छायांकन अनिश्चित बनेको छ ।

निर्देशक न्यौपाने र प्रोडक्सन हेड गणेश सापकोटाको मिलेमतोमा अनावश्यक रूपमा निर्माताको पैसा हिनामिना भएको आरोप लगाइएको छ । एक प्राविधिकले नाम नबताउने सर्तमा बताए । त्यसो त फिल्मको सुटिङ सेटमा नै प्राविधिकहरूले पारिश्रमिकको विषय उठाएर हडतालसमेत गरेका थिए ।

केही प्राविधिकलाई पारिश्रमिक स्वरूप चेक प्रदान गरिएको र वाउन्सको क्रममा रहेको भन्दै उनीहरूले न्यायको लागि कानुनी बाटो रोज्नेसमेत तयारी गरेका छन् । प्राविधिकहरूले खोजी गर्दा निर्माता निर्देशक सम्पर्कमा समेत नआएको बताइएको छ ।

उता निर्देशन न्यौपानेले मौसमी गडबडीको कारण फिल्मको छायांकन रोकिएको दाबी गरे । रकम हिनामिनाको प्रसंगमा उनले निर्माता भुसालको नामसम्म लिन चाहेनन्, जुन कुराले पनि उनीहरूबीचको विमति छर्लंग बनाएको छ । न्यौपानेले कथाको मागअनुसारको दृश्य खिच्दै गर्दा सोही प्रकारको खर्च भएको दाबी गरे ।

त्यसो त फिल्मको घोषणापछि सुरुवातमा मुख्य कलाकार भनिएका वर्षा शिवाकोटी, प्रशान्त ताम्राकारलगायतले साइनिङ अमाउन्ट नै फिर्ता गरेर हात झिकेपछि यसअघि नै यो फिल्म विवादमा आएको थियो । त्यसपछि मात्रै वर्षाको स्थानमा निकिताको इन्ट्री भएको थियो । यो फिल्ममा लिड अभिनयमा निकितासँग नवअभिनेता प्रितमराज सेञ्चुरी छन् ।