देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘राजनीति, साहित्य र जीवनको त्रिवेणी’

देशान्तर

– सीताराम ढकाल
प्रा.पीताम्बर शर्मा दाहालद्वारा लिखित मेरो रिमरिमे सम्झना (२०७५) चम्पू काव्यको ‘सम्पादकीय शुभकामना पीताम्बर सरलाई’ शीर्षकमा कृतिका सम्पादक त्रि.वि.,पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौंका उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले लेखेका छन् :–

‘प्रस्तुत कृति पीताम्बर दाहाल सरलाई विविध पक्ष र सन्दर्भका रूपमा चिनाउने आधिकारिक बनेको छ । यसमा उहाँका पारिवारिक वृत्तका र जीवनका सामान्य घटनामात्र नभई विशेष परिस्थिति र तत्कालीन नेपालको राजनैतिक सामाजिक स्थिति र परिवेशको यथार्थ झलक आएको छ । पीताम्बर सरका व्यक्तिगत, पारिवारिक, राजनैतिक सङ्घर्षका विविध रोचक र रोमाञ्चक सन्दर्भहरू पढ्दा पाठकका मनमा अद्भुत आश्चर्यको सिर्जना हुन्छ । कतैकतै आङ सिरिङ्ग हुने घटना सन्दर्भहरू यहाँ आएका छन् । सङ्घर्षशील र जुझारु व्यक्तित्वका धनी दाहाल सरलाई कुनै एउटा पाटोभित्र राखेरमात्र अध्ययन गर्नु सम्भव हुँदैन । उहाँको कवि व्यक्तित्वको योगदान त अगाडिका दुई कृतिले स्पष्ट पार्दछन् । हाल प्रकाशित कृतिले गद्यपद्य मिश्रित चम्पू काव्यको झलक दिएको छ ।‘

प्रस्तुत पुस्तकमा दाहालको बाल्यकाल, जन्मस्थान बाल्यावस्था म बुइपाको खिरिमा साक्षर बनँे, पिताजी पं. भानुभक्त दाहाल, म फेरि फर्किएर खिरी गएको छैन, अविस्मरणीय ईश्वरले हात थाप्यो, पिताजीसँगको केही न्यानो प्रसङ्ग खर्क र लेकबेसी पिताजीको प्राणान्त र त्यसपछिको मेरो अवस्था म ज्योतिषी भएर घर छाउन रोके, पं. चन्द्रलाल काकाको सल्लाह, आमालाई मेरो जीवनमा नयाँ घुम्ती, हामी दुवैभाइ काठमाडौं, मेरो अनुभवमा सिपाही, मेरो विद्यार्थी जीवन, एक सत्यले बाँचे, फेरि अर्को दुर्घटना, सहनु न कहनु व्यथा, पहिलो पटक चियाको स्वाद पाएँ, सुखद छात्रवासको जीवन, फेरि कष्टको काल आयो, जस्ता अनेक शीर्षक र उपशीर्षकमा आफ्ना जीवनका तीतामीठा घटनाहरूलाई केलाएर उहाँले नेपाली साहित्य आकाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

यसैगरी प्रा. दाहालले आफू सानैदेखि राजनैतिक क्षेत्रमा संलग्न रहेको र विभिन्न उतारचढावका साथ राजनैतिक क्षेत्रमा अगाडि बढेको कुरालाई पनि उहाँले प्रष्ट पार्नुभएको छ । उहाँ हाम्रो लागि एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँका बाल्यकालका ती आरोह अवरोध वा जीवनगाथा र उहाँले गर्नुभएका दुःख सुखका अनुभवहरू समाज र राष्ट्रको लागि गरेको योगदान, समाज र राष्ट्रको परिर्वतनको लागि उहाँले खेल्नु भएको भूमिका सबैका लागि उल्लेखनीय रहेको छ । साहित्यिक तथा राजनैतिक दुवै क्षेत्रमा सक्रिय रहेर समाजभित्रका धब्बालाई हटाउनका लागि उहाँले खेल्नुभएको भूमिकालाई हामी कसैले पनि भूल्न सक्दैनौँ । उहाँले आफ्नो पुस्तक विमोचन समारोहमा पहिलेको नेपाली कांग्रेसले खेलेको भूमिकालाई छाडेर नेताहरूको सत्ता प्रवृत्तिको कारणले कांग्रेसले हार खानु परेको कुरालाई स्वीकार्नु भयो । यसैगरी उहाँले नेताहरूले दरो अडान लिन नसकेको र पैसा र सत्ता लिप्साका कारणले जनताको पार्टी कांग्रेसले यो मार भोग्नु परेको कुरालाई व्यक्त गर्नुभयो । यसै आधारबाट पनि उहाँ कर्मठ, जुझारू व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा स्वतः सिद्ध हुन्छ ।

आफ्नो जागिरे जीवनमा विभिन्न दुःख कष्टलाई सहेर भए पनि नेपाली राजनीति र साहित्यिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको देखिन्छ । अवकाश प्राप्त समयमा पनि उहाँले विभिन्न संघसंस्थामा राजनैतिक सामाजिकका माध्यमबाट नेपाली धर्म, संस्कृति समाज र प्रजातान्त्रिक आन्दोलनका माध्यमबाट समग्र नेपाली समाज र राष्ट्रको सुधारका लागि गर्नुभएको योगदान अविस्मरणीय देखिन्छ । सानै उमेरदेखि सत्याग्रहीका रूपमा जेल जीवन, भोग्नु परेको पीडा, विद्यार्थी युनियन संस्कृत प्रधान पाठशाला, रानीपोखरीको सचिव, संस्कृत छात्र संघको केन्द्रीय समितिको सचिव, भद्रअवज्ञा आन्दोलन यसैगरी पूर्व ३ नं. (ओखलढुंगा, खोटाङ र सोलु) को सचिव, प्रजातान्त्रिक मोर्चा, प्रचारक, संयोजक, नेपाल तरुण दल केन्द्रीय सम्मेलनका अध्यक्ष, महासचिव, सल्लाहकार सदस्यजस्ता पेसागत र राजनैतिक संघसंस्थामा रही उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको देखिन्छ ।

रिमरिमे सम्झनामार्फत आफ्नो जीवनका विभिन्न घुम्तीहरूमा आफूले भोगेका, सम्झेका आजसम्मका मुख्यमुख्य घटनाहरूलाई लिपिबद्ध गरेर प्रकाशित गर्नुभएको छ यसबाट अझ उहाँको साहित्यिक वा राजनैतिक व्यक्तित्व अझ प्रष्ट देखिन्छ । जहाँ देश भित्र वा बाहिर जहाँ रहे पनि उहाँका कृतिले नेपाली समाज, राष्ट्र र साहित्यको क्षेत्रका चम्किरहनेछ । उहाँले ८० वर्षको वयमा पनि आफूले देखे भोगेका र अनुभव गरेका तीता, मीठा घटना वा जीवनका ती घुम्तीहरूलाई गद्य र पद्यका माध्यमबाट चम्पू ग्रन्थका रूपमा प्रकाशित गरी अब साहित्यिक व्यक्तित्वले मात्र होइन राजनैतिक व्यक्तित्वले पनि साहित्यिक क्षेत्रमा केही गर्नुपर्दछ भन्ने झटारो हान्नु भएको छ । उहाँका यी लेख रचनाहरू अत्यन्त रसिला छन् र पठनीय पाठकहरूका लागि पोषिला रहेका छन् ।

यसैगरी ओखलढुंगा जिल्लामा जन्मेर नेपाली कांग्रेसको संगठन गर्ने पहिलो चरणको नेतृत्व पीताम्बर शर्मा दाहालले नै गर्नुभएको थियो । पिताजी र माताजीका नाममा उहाँले स्थापना गर्नुभएको प्रतिष्ठान मार्फत साहित्य र कला क्षेत्रमा पनि उहाँले ठूलो योगदान पु¥याउनु भएको छ । त्यसैगरी उहाँ स्वतन्त्र आन्दोलनका अनवरत यात्री हुनुहुन्छ र अझ पनि उहाँको उत्तिकै जोश र जाँगर देख्न सकिन्छ । यसै गरी समाज सेवामा समेत उहाँको योगदान रहेको छ । यसैगरी अहिलेका नेता सत्ता र पैसामा बिक्री र साहित्यकार आफ्नो यश र तारिफमा दौडिरहने होडबाजी रहेको परिपेक्षमा प्रा. पीताम्बर शर्मा दाहाल सत्ता सम्पत्ति पदभन्दा बाहिर रहेर पहाडझै अडिग भई आफ्नो साहित्य आकाशमा उभिनुभएको छ । त्यसैले पनि उहाँ सगरमाथा झै उच्च हुनुहुन्छ । यसै आधारमा उहाँलाई आफ्नै विशिष्ट पहिचान भएको व्यक्तित्वको रूपमा लिन सकिन्छ ।

प्रा. पीताम्बर दाहाल राजनैतिक क्षेत्रमा पनि सानै उमेरदेखि उत्तिकै सक्रिय भइरहनुहुनथ्यो भन्ने कुरा उहाँका लेख रचनाले प्रष्ट पारेका छ । यसैगरी उहाँको काम गर्ने शैलीले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूलाई समेत अत्यन्त प्रभावित तुल्याउने विश्वास पात्रको रूपमा उहाँले आफ्नो दिनचर्यालाई अगाडि बढाउनु भएको पाइन्छ । यसै आधारमा पनि उहाँलाई एक बहुमुखी व्यक्तित्वका धनी भनी स्वीकार्न सकिन्छ । यसैगरी पञ्चायत विरोधी आन्दोलन सक्रिय रूपमा गरेको देखिन्छ । यसैगरी साहित्यको क्षेत्रमा पनि उहाँले जुधारु रूपमा आफ्नो वेग अघि बढाएको देखिन्छ । उहाँका विभिन्न काव्यहरू पढ्दा लेखनीमा विभिन्न कविताहरूलाई विभिन्न छन्दहरूलाई ललितमय ढङ्मा रसमाधुर्यता छर्न सफल भएको देखिन्छ । यसै गरी आफ्नो भावलाई छन्दमय पद्यमा मार्मिक ढङ्गले रचना गर्नु सक्नु उहाँको विलक्षण प्रतिभा हो ।

निष्कर्षमा भन्नुपर्दा उहाँका समग्र कृतिहरूलाई अध्ययन गर्दा प्रा. पीताम्बर शर्मा दाहाल उच्च व्यक्तित्वका धनी समाज र देशभित्रका परिवर्तन मन पाउने, न्याय खोज्ने प्रजातान्त्रिक समाजवाद मन पराउने हक्की स्वभावका, कर्तव्यनिष्ठ एक सशक्त प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँ ज्ञान, विचार अनुभवका उच्च व्यक्तित्व गान्धीको जस्तो सादा जीवन उच्च विचारका धनी गहन अध्ययन चिन्तनमा तल्लीन व्यक्तित्वको खारिएको अनुभवबाट वर्तमान पुस्ताले पनि धेरै सिक्न सक्दछन् भन्ने म ठान्दछु ।

यसै गरी उहाँ कलिलो उमेरमा पनि अहोरात नथाकी खट्ने परिपक्व नेताको जस्तो भूमिका निर्वाह गरिरहने निष्ठा र आस्था प्रति सधै उच्च मनोबलका साथ अघि बढिरहेने र प्रजातान्त्र, समाजवादका गोष्ठीहरूमा आफ्नो विचारहरू राख्दै हिँड्नु हुने एक सतिसाल प्रा. पीताम्बर शर्मा दाहाको यो पुस्तक साहित्यिक, राजनैतिक, समीक्षक, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रप्रति प्रतिबद्ध व्यक्तिहरूका लागि पनि उत्तिकै उदाहरणीय बन्ने छ । यसैगरी नेपाली साहिच्य आकाशका लागि एक मणि नै हो भन्दा फरक नपर्ला ।

यसैगरी यस्ता खारिएका पाका व्यक्तित्व प्रा.पीताम्बर शर्मा दाहालबाट आउँदा दिनमा अझ आफ्नो अतितका आफूले जीवनमा देखे भोगेका मात्र नभइकन अन्य ग्रन्थहरू आउने आशा गर्दछु । यसैगरी ऐतिहासिक विश्लेषक, तवश्वी साधक आफ्नो कुल वंश र नेपाली कांग्रेसले हालसम्म भागेका समग्र आरोह अवरोहहरू र प्राध्यापन क्षेत्रलाई समेत समेटेर तयार पारेको यो पुस्तक एक महत्वपूर्ण दस्तावेज हो भन्दा अन्याय नहोला ।

(लेखक ढकाल सहिद शुक्र मा.वि. बागबजार, काठमाडौंमा अध्यापन गर्छन् ।)