घनेन्द्र ओझा
नेपाली साहित्यमा विक्रमको चालीसको दशकमा निकै धेरै ऊर्जाशील युवाहरूको उपस्थिति भएको पाइन्छ । समवयी र समकालीन यस्ता युवाहरूले नै आजको नेपाली साहित्यका कविता, आख्यान, नाटक, समालोचना जस्ता क्षेत्रमा आफ्ना विशिष्ट पहिचान बनाउँदै आएका छन् । र, नेपाली साहित्यमा आएको यो पुस्ता निकै अध्ययनशील, क्षमतावान् र परिष्कृत पनि देखिन्छ ।
यही चालीसकै दशकका स्रष्टा हुन्, सुविद गुरागाईं । यायावर जस्तो जिन्दगी भोग्न मनपराउने सुविद स्थायी जागिर हुँदाहुँदै शोखको पेसा पत्रकारितामा पनि उत्तिकै समय दिइरहेका छन् । अझ भन्दा जागिरभन्दा बढी नै समय, श्रम र मिहिनेत उनको पत्रकारितामा देखिन्छ । उनी कतिबेला सुत्छन्, कतिबेला उठ्छन्, सायद उनी आफैँलाई थाहा हुँदैन । रातको १२–१ बजेसम्म साहित्य र पत्रकारिताका विषय खोज्न चोक, गल्ली र सडकहरूमै भौँतारिइरहेका भेटिन्छन्, इटहरीतिर । विद्यालयमा पढाउनु, पत्रपत्रिकाका लागि लेख, समाचार लेख्नु, सम्पादन गर्नु, एफएम रेडियोमा कार्यक्रम उत्पादन गर्नु, सञ्चालन गर्नु, समाजसेवाका विविध क्रियाकलापमा सहभागी बन्नु, साथीभाइसँग चियागफ गर्न पनि भ्याउनु र त्यसबाहेकको समय सिर्जनामा तल्लीन रहनु सुविदको दिनचर्या हो, पंक्तिकारले देखेको ।
यद्यपि, उनको सिर्जनशीलता, उनको सक्रियताले नेपाली पत्रकारिता र साहित्यका निम्ति राम्रै योगदान दिइरहेको छ र हाम्रा भाषा, साहित्य र पत्रकारितालाई समृद्ध बनाइरहेको छ ।
भर्खरै सुविदको ‘जूनको आगो’ गजलकृति प्रकाशन भएको छ । जून आफैँमा शीतलता र शान्तिको प्रतीक हो । आगो अशान्ति र ध्वंशको प्रतीक हो । यी दुई विपरीत स्वभावका विम्बलाई लिएर उनले आफ्नो पुस्तकको नाम राखेका छन्, जूनको आगो । जूनमा होइन त्यसकै अर्थात जूनकै आगो भनेपछि यसले ‘प्याराडक्स’ उत्पन्न गराएको छ । पुस्तकको शीर्षकले नै शान्ति र सौहार्दतामाथि विचलन भएको संकेत गरेको छ ।
हुन पनि यस पुस्तकभित्रका रचनामा समाजका, मानिसका, राजनीतिका, प्रेमप्रणयका क्षेत्रमा आएका विचलनलाई विषय बनाइएको छ । समाजमा बढ्दो अशान्ति, भेदभाव, मानिसमा घट्दो मानवीय संवेदना, सहयोग भाव, सद्भाव, राजनीतिमा बढ्दो भ्रष्टाचार, नेतृत्वमा फैलँदो अनैतिकता, अस्थिरता र अराजकता तथा हराउँदो आपसी प्रेम यहाँका रचनामा विषय बनेका छन् । यसरी नै पुरुष–महिलाबीचका स्वाभाविक आकर्षण पनि गजलका विषय बनेका छन् ।
जम्मा ८४ वटा रचना संकलित यस कृतिमा विविध विषयका तीन शेरदेखि छ शेर आयामका र सात अक्षरदेखि १६ अक्षरसम्मका सिर्जना राखिएका छन् ।
पुस्तकबाट केही शेर हेरौं :
म हाँस्ता सबै साथी हाँस्थे साथ दिन्थे
स्वार्थी दिन सम्झीसम्झी रुन थालेको छु ।
अप्ठेरो यो ठाउँ छ एक्लैएक्लै नहिँड सडकमा
आँधीहुरी आउँछ एक्लैएक्लै नहिँड सडकमा ।
आँसु रोकिराख्नू भोलि क्या हो क्या हो
विचार गरी हाँस्नू भोलि क्या हो क्या हो ।
गजब भो मैले पनि मायाको अनुभव गरेँ
परेलीमा अल्झिएर आँसुको दहमा झरेँ ।
वास्तवमा गजल आजको सम्भवतः
धेरै लेखिने र धेरै नै बहस र विवाद भएको विधा पनि हो । आजको नेपाली गजल यसको शास्त्रीयता, मूल्य र मान्यतामा रहेर विवादित बन्दै आएको छ । यस अर्थमा हेर्ने हो भने नेपाली भाषामा लेखिएका, लेखिइरहेका अधिकांश गजल भनिएका रचना गजलको कोटिमा नपर्न सक्छन् । यद्यपि, नेपाली स्रष्टाहरूले आफ्नै मौलिकताअनुसारको, आफ्नै माटोअनुसारको शैली र लयमा गजल लेख्ने प्रयास गरेको बताइँदै आएको छ । तर त्यसो हुँदा शदियौँ पहिले निर्मित गजलको शास्त्रीयता तोड्दा उक्त रचना गजल नै बन्ला कि अरू कुनै विधा बन्ला भन्ने प्रश्न पनि टड्कारो देखिन्छ ।
गजलको शास्त्रीय मान्यतालको कसीमा राखेर हेर्दा सुविदका रचनामा पनि केही कमीकमजोरी देखिन्छन्, अरूका रचनामा जस्तै । जस्तो कि गजलका आधारभूत बाह्य तत्त्व काफिया, लयलाई विशेष मानिन्छ । काफियामा सचेत देखिएका सुविद लयमा कमजोर देखिन्छन् । गजलमा शास्त्रीय बहर अथवा छन्दको प्रयोग अनिवार्य मानिन्छ तर यिनका रचनामा शास्त्रीय बहर, छन्दको प्रयोग पाइँदैन । आक्षरिक सामान्य लयको प्रयोग गरेर नै यिनले रचना गरेका छन् । यसरी नै गजलमा छोटोमा वा थोरै शब्दमा धेरै बृहत् भाव अभिव्यक्त गर्न सकिन्छ । यसो गर्न निकै चुनौतीपूर्ण पनि छ । हरेक दुई पंक्तिले प्रभावकारी र तीब्र रूपमा बृहत् र चामत्कारिक भाव प्रस्तुत गर्नु गजलको विशेषता हो । यस कुरामा पनि कतिपय ठाउँमा सुविदले ध्यान दिनुपर्ने देखिन्छ । दुई मिसराबीचको चामत्कारिक र प्रभावशाली शिल्प संयोजनलाई हरेक गजलकारले ध्यान दिनु आवश्यक हुन्छ ।
प्रतिक्रिया