देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको हेटौँडा भेला आज सकिदै

देशान्तर

काठमाडौँ । हेटौंडामा जारी नेपाली कांग्रेस जिल्ला सभापतिहरूको तीन दिने राष्ट्रिय भेला आज सकिंदै छ । मंगलबार देखि शुरु भएको भेलामा जिल्ला सभापतिहरुले नेतृत्वलाई प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।

हेटौंडामा भएको भेलामा जिल्ला सभापतिहरुले संसदमा प्रतिपक्षीको भूमिका प्रभावकारी बनाउन र गुटको अन्त्य गर्न नेतृत्वलाई सुझाव दिएका हुन् ।

भेलाको बन्दसत्रमा जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । उनीहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र पार्टीमा देखिएका विभिन्न गुटबन्दीलाई प्रश्रय दिएको आरोप लगाउँदै नेतृत्वको आलोचना गरेका हुन् ।

जिल्ला सभापतिहरुले नेतृत्व अझै नचेते आगामी दिनमा नेपाली कांग्रेस पूर्णरुपमा सकिने चेतावनी पनि दिएका छन् ।
उनीहरुले पार्टी नेतृत्वलाई पदको लोभ नगरी त्याग गर्न सुझाव दिएका छन् ।

सभापतिहरुले संसद्मा प्रतिपक्षी दलको नाताले प्रभावकारी भूमिका निर्वाह गरेर सरकारले गरेका गल्ती औंल्याउन सक्नुपर्ने बताएका छन् ।

अहिलेसम्म संसदमा कांग्रेसको भूमिका प्रभावकारी नभएको भन्दै उनीहरुले यसले जनतामा सकारात्मक प्रभाव पार्न नसकेको जिकिर गरेका छन् ।

यसैबीच कांग्रेसका युवा नेता गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी लगायतले हिजो नै जिल्ला सभापतिहरूलाई ५१ पृष्ठ लामो पार्टीको कार्यदिशा र कार्यक्रम बाँडेका थिए । युवा नेताहरुले तत्काल महाधिवेशनको माग समेत गरेका छन् ।