देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनसुनमा फुटबल र साहित्य

देशान्तर

डा. ध्रुवचन्द्र गौतम

त्यसो त खेलकूद यो स्तम्भको विषय होइन । तैपनि, साहित्यसँग त्यसको सम्बन्ध छँदैछैन कसरी भन्नू ? कति साहित्यकार जीवनमा अत्यन्त सफल खेलाडी भइरहेका देखिन्छन् । कुनै पनि सरकार आओस्– तिनलाई फरक पर्दैन । सबसँग ‘एडजस्ट’ हुने क्षमताका कारण ती जसको पनि भक्त भइदिन सक्छन्, के छ र ? भगवान्कै भक्त हुँदा त फल प्राप्त होला नहोला, यो भक्ति त ‘स्योर सट’ छ । अर्थात् हाम्रा केही साहित्यकार राम्रो ‘सट’ हान्नमा माहिर छन् । फुटबलको वल्र्ड कपमा जहाँ होस, ‘करारा’ शट लगाउने साहित्यकारको कदर हुनै पर्दछ भन्ने मेरो पनि धारणा छ । बरु लेखकसँग अनुरोध छ, आफ्नो ‘प्राक्टिस’ तेज गरिदिनुस् । यता विश्व फुटबल सुरु भएको छ भने उता तीन एकेडेमी खाली हुँदैछ रे । त यस्तोमा आफ्नो कला नदेखाए कहिले देखाउने ? अब त तीनै एकेडेमी रहन्छ रे नि त ? तीनै लोक सुरक्षित । दौड लगाउन परेन त अब ?
…..
विश्व फुटबलमा एक न एक जीवलाई खानकी दिएरै राखिने जस्तो छ । यसअगि एउटा अक्टोपसलाई राखिएको थियो । अक्टोपस भन्नाले त विशाल विशाल पनि हुन्छन् । योचाहिँ अलि मझौला खालको थियो । जसको कामै थियो, उता फुटबल हे¥यो, यता अक्टोपसबाट भोलिको खेलको भविष्यवाणी हे¥यो । मानिस फुटबलभन्दा बढी अक्टोपस चाहिँ हेर्दथे । ‘फिफा’लाई त्यसले घाटा भएन । अक्टोपसको भविष्यवाणी ठीक हुन्छ कि हुन्न भनेर हेर्न पनि ओइरिन्थे । तपाईहरुलाई पनि सम्झना होला । एकपटक त्यो अक्टोपसले एक देशलाई हार्ट भनिदियो । त्यो देशका केही फुटबल प्रेमीले अक्टोपसलाई काटकुट गरेर, मसला हालेर भुटेर खानेसम्म आकांक्षा जाहेर गरेका थिए । अक्टोपस खाइन्छ कि खाइन्न थाहा छैन । क्रोधका कारण खाने भनियो होला । कसैले साँच्चिकै खाइदिएको भए, त्यो अर्को कीर्तिमान हुन्थ्यो । यसले अक्टोपसको लोकप्रियता झन बढाएको थियो । यसपटक त्यही पदमा भविष्यवाणी गर्न बिरालो राखिएको छ । हेरुँ के÷के सुनिन्छ ?

बीचमा तीन एकेडेमी एउटैमा गाभ्ने कुराले खुब चर्चा पायो, एकपटक । अर्थमन्त्रीले छ्वास्स एक लाइन बोलिदिए, पुगिहाल्यो । ठूला मानिसले बोलेको एकै लाइन पनि हल्लीखल्ली मचाउन पर्याप्त हुन्छ । नराम्रो भए झन पर्याप्त हुन्छ । त त्यही भयो । बजेटमा अर्थमन्त्रीले बोलेको, के चाहियो ? यो कसको आइडिया रहेछ ? यसको खोजी हुन थाल्यो । कसैले को भने कसैले को ? मान्छे नभएर, ३३ किलो सुनजस्तो भयो, पत्तै नलाग्ने । मलाई मिडियाले सोध्न थाले । मैले त भनिदिएँ, भाइ, म त, भइसकेको तीन एकेडेमीलाई गाभ्ने पक्षमा ठ्याम्मै छैन । तीनलाई दरो पो बनाउनतिर लाग्नुपर्छ, मास्नतिर लाग्ने ? विकेन्द्रीकरण वा संघीयताको पनि अनुक”ल हुँदैन । यो त गरिबी मेट्नलाई गरिबै मानिरहियो, समस्यै समाप्त भनेजस्तो भयो । तर अन्त्यमा सम्बद्ध निकायबाट आयो, एकेडेमी तीनवटै रहन्छन् । राम्रो, तर अर्थमन्त्री र अन्यबीच समय भएनछ यसमा ?

त्यसैले मैले अगि भनेको, मनसुनको मौसम भए पनि, जसरी फुटबल यसै मौसममा सुरु भएको छ, त्यसैगरी एकेडेमीमा पनि खेलक’दको मौसम अहिल्यै थालिएको छ । तपाईं भन्नुहोला, अहिले म्याद त बाँकी छ त ? थाहा छ, त्यसैले मैले भनें, खेलकुलको मौसम अहिले सुरु भएको छ । अहिले दगुरेन भने, समयमा गोल पोस्टसम्म कसरी पुग्ने ? पहिले दगुर्नु हुन्छ, अनि न पुग्नु हुन्छ ? त्यसमा पनि बल लिएर जानुपर्ने हुन्छ । बल भनेको ‘चाबल’ चामल होइन सर, चाबल, अर्थात् हामीकहाँ ‘चा’को अर्थ के हुन्छ एउटा, हो त्यही बल । यो चाबल, चामलभन्दा कता हो कता पौस्टिक हुन्छ, लिएर जानेलाई पनि, लिएर बस्नेलाई पनि । अझै बुझिएन ? ‘चाबल’ भनेको चाकरी बल हो । यो बल गुडाउन राम्ररी सक्यो भने देशको जुनसुकै गोलपोष्ट पनि भ्याइन्छ, एकेडेमी त के ? यो कुरो विगतमा पनि धेरै सयममा सिद्ध भइसकेको छ ।