काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको छैटौ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । हिजो बन्दसत्र सम्पन्न भएपछि उम्मेदवारहरुको मनोनयन हिजो साँझबाट सुरु भएको मनोनयन आज बिहान ७ वजे सम्मका लागि राखिएको छ ।
हिजो सम्म तोकिएको महाधिवेशन एक दिन लामो भएको छ । चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
ट्रेड युनियन काँग्रेसका निबर्तमान अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनलाई श्रमिकहरुको संगठनका लागि उभ्याउन सबैलाई समेटेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताए । बन्दसत्रमा झण्डै १५० प्रतिनिधिले आफ्नो राय तथा सुझाव राखेका थिए । दाहालले प्रतिनिधिले दिएका सुझावलाई एकीकृत गरेर ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउने उल्लेख गरे ।
निर्वाचनका प्रमुख निर्वाचन अधिकृत भरत खरेलले निर्वाचनको कार्य शुक्रबार बिहान ७ बजेदेखि सञ्चालन गरिने जानकारी दिए । सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा देशैभरबाट एक हजार ४२० जनाले मताधिकारको प्रयोग गर्नेछन् । अध्यक्षका लागि निबर्तमान अध्यक्ष खिलानाथ दाहाल, पूर्व वरिष्ठ उपाध्यक्ष पुष्कर आचार्य र उपाध्क्ष रमा पौडेलले आ – आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । दाहाल र आचार्य आ–आफ्नो प्यानल सहित अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् भने पौडेलले एक्लै उम्मेदवारी दर्ता गरेकी छन् ।
प्रतिक्रिया