काठमाडौं । विश्व फुटबलको महाकुम्भ मेला आजबाट सुरु हुँदैछ । आफ्नो भूमिमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपका लागि रसियाले भब्य तयारी गरेको छ । विश्व फुटबलको महाकुम्भको उद्घाटन समारोह कस्तो हुने होला ? पक्कैपनि उत्कृष्ट होला । विश्वब्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् । ‘रसियामा प्रस्तुती गर्नका लागि म निकै उत्साहित छु । फिफा विश्वकपको उद्घाटनमा ८० हजार प्रत्यक्ष र करोडौं अप्रत्यक्ष दर्शक सामु प्रस्तुती सानैदेखिको सपना थियो’ रोब्बीले भने, ‘आउँदो क्षणलाई अविस्मरणीय बनाउनका लागि फुटबल र संगीतका पारखीहरुलाई निमन्त्रणा दिन चाहन्छु ।’ विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुनेछ । यो पटक उद्घाटन समारोहले सांगितिक प्रस्तुतिमा ब्यापक जोड दिनेछ, जुन ‘किक–अफ’ भन्दा आधा घण्टा अघि सुरु हुनेछ ।
विश्वकपको ट्रफी, जसलाई जित्नका लागि ३२ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्, दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा भित्राउनेछन् । ‘प्रतियोगिताको उद्घाटन खेल प्रतीकात्मक हुन्छ । फुटबल प्रेमी, खेलाडी, पदाधिकारी लगायत सबैले यो क्षणलाई निकै महत्वपूर्ण अनुभव गर्दछन् ।’ ब्राजिलियन रोनाल्डोले भने । ‘किनभने यो क्षण चार वर्षको ब्यग्र प्रतिक्षापछि आएको छ र आउँदो एक महिनावीचमा के हुन्छ कसैलाई थाहा हुँदैन ।’
आयोजक राष्ट्रका लागि त यो क्षण भावनात्मक रुपमा जोडिएको हुन्छ । पूरा विश्व फुटबल प्रतिको मोह दर्साउनका लागि आयोजकको आँगनमा एकत्रित हुन्छन् र आयोजकले त्यसका लागि ठूलो परिश्रम गरेको हुन्छ । यो मैले अघिल्लो संस्करणमा भोगेको हुँ ।’ उद्घाटन समारोहका प्रस्तुतीहरु रसियाको च्यानल वनले निर्माण गरेको हो । तीन वर्षअघिको खेल तालिका सार्वजनिक कार्यक्रम देखि विश्वकपको सन्दर्भमा भएका र जुलाई १५ सम्म हुने सबै कार्यक्रमहरुको डिजाइन फेलिक्स मिखाइलोभले गरेका हुन् ।
‘फिफा विश्वकपको उद्घाटन र समापनमा नयाँ ढाँचा आरम्भ गर्न पाउँदा हामी धेरै खुसी छौं । दर्शकले हाम्रो प्रदर्शनीमा फुटबल र प्रेमको संगम पाउनेछन्’ मिखाइलोभले भने । रुसको राजधानी मस्कोमा अवस्थित यस रंगशाला यस विश्वकपकै सबैभन्दा शानदार र प्रतिष्ठित रंगशाला किन पनि हो भने, यहाँ विश्वकप फाइनल खेल आयोजना हुनेछ ।
यो युरोपकै सबैभन्दा ठूलोमध्येको एक रंगशाला हो । ८० हजार दर्शक क्षमताको यो रंगशालो मस्कोभा नदीको छेउमा छ । दर्शकहरूले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन् । सन् १९८० को ओलम्पिक, १९९९ को यूएफा कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो ।
पुनर्निर्माण गरिएपछि डाटा बेस वेभसाइटले यस रंगशालालाई ‘स्टेडियम अफ दि इयर २०१७’ अवार्ड प्रदान गरेको थियो । यस रंगशाला निर्माण तथा पुनर्निर्माणका लागि ४ सय मिलियन अमेरिकी डलर खर्च लागेको छ । यस रंगशालामा रुश र आउदी अरबले विश्वकप उद्घाटन खेल खेल्नेछन् भने १७ जुनमा जर्मनी र मेक्सिको, २० जुनमा पोर्चुगल र मोरक्को, २६ जुनमा फ्रान्स र डेनमार्कका खेलहरु हुनेछन् । त्यस्तै प्रिक्वार्टरफाइनल र सेमिफाइनल तथा फाइनल खेल यसै रंगशालामा हुनेछ ।
प्रतिक्रिया