कविता साहित्यको उत्तम विधा हो । प्रतीकात्मक अभिव्यक्तिको सुन्दर र सशक्त माध्यम हो कविता । थोरै शब्दमा अथाह भाव अभिव्यक्त गर्न कविता लेख्छन् कविहरू । यसो त साहित्यमा अन्यान्य विधा पनि छन्, भाव अभिव्यक्तिका । तर संसारमै कविता लेख्नेहरूको संख्या सबैभन्दा धेरै छ ।
नेपाली साहित्यमा पनि भन्ने गरिन्छ, सबैभन्दा बढी लेखिने र सबैभन्दा थोरै पढिने विधा हो कविता । उसो त कविता भन्नेवित्तिकै समग्र काव्य बुझ्न सकिन्छ । कविता वा काव्यभित्र अनेक उपविधा पनि छन्, जस्तो कि मुक्तक, हाइकु, ताङ्का, चोका, गजल, गीत आदि । अनि कविताकै वृहत र वृहत्तर रूप पनि छन्, खण्डकाव्य र महाकाव्य ।
वर्तमानमा भने नेपाली साहित्यमा काव्यका गजल र मुक्तक बढी लेखिने गरेको पाइन्छ । यद्यपि, गद्यकविता र छन्दकविता लेखन पनि घटेको छैन । पछिल्लो समय छन्दकविताको जागरण नै आएको पनि देखिन्छ ।
जुनसुकै विधा वा माध्यम अपनाए पनि साहित्यको उद्देश्य हो समकालीन समाजका, मानिसका पीडा, दुःख, खुसी, अभाव, असन्तुष्टि, आग्रह आदि अभिव्यक्त गर्नु र ती कुराहरूबाट समाजा र व्यक्तिको मुक्तिको कामना गर्नु ।
तर, पछिल्लो समय नेपाली साहित्यले साहित्यिक गुणवत्ताभन्दा राजनीतिक, जातीय, धार्मिक, लैंगिक आग्रह बढी प्रस्तुत गरेको भन्ने आलोचना पनि बढिरहेको देखिन्छ । अत्यन्तै थोरै सर्जक मात्र साहित्यको गुणवत्ताप्रति सचेत भएर लेखिरहेका छन् भन्ने चर्चा चल्न थालेको छ अहिले । कतिपय सर्जक भने शब्दका भारी बोकाएर साहित्यलाई भद्दा र कुरूप बनाउन उद्यत् पनि देखिन्छन् । तानतुन पारेर अनेकतिर (भाषा)का अनेक शब्द विकृत बनाएर प्रयोग गर्दैमा उत्कृष्ट र नयाँ प्रयोगसहितको साहित्य भन्ने भ्रममा परेर वा पारेर नेपाली साहित्यको बजारमा ‘चम्किएका’ पनि छन् केही । तर यसले नेपाली साहित्यको विकास र विस्तारमा अनि परिष्कारमा केही योगदान गरिरहेको छ वा झनै विकृत बनाउँदै छ भन्नेतिर हामीले सोचिरहेका पाइँदैन ।
सन्दर्भ कविताको थियो । भर्खरै कवि राधाकृष्ण भट्टराईको कविताकृति ‘नदीसँग मनको तिर्खा’ बजारमा आएको छ । निकै लामो समयदेखि कविता लेखनमा सक्रिय राधाकृष्ण अत्यन्तै सरल र शालीन अनि प्रभावकारी कविता लेख्ने कवि हुन् । उनका कवितामा प्रचलित र सरल अनि सुबोध्य शब्दको प्रयोग हुन्छ तर काव्यशिल्प भने निकै सुन्दर हुने गर्छ । सामान्य शब्दको प्रयोग गरेर पनि उच्चशिल्पद्वारा गहन र बेजोड भाव प्रस्तुत गर्न सक्ने खुबी यिनमा देखिन्छ ।
समकालीन नेपाली कविता लेखनमा पर्दा पछाडि नै रहेर, कसैका पक्ष, विपक्षका बहसबाट टाढा रहेर आफ्नै सुरमा, आफ्नै स्वभावमा निरन्तर काव्यप्रवाहमा बगिरहनु उनको स्वभाव हो । त्यसैले त उनी काव्य सिर्जनामा मात्र तल्लीन हुन पाउँछन् र सुन्दर सिर्जना हामीलाई दिइरहेका छन् ।
उनको ‘नदीसँग मनको तिर्खा’मा ४५ वटा कविता संगृहीत छन् । विभिन्न विषय र भाव समेटिएका यस कृतिभित्रका कविता पढ्दा लाग्छ, राधाकृष्ण कविता लेख्नकै लागि जबर्जस्ती लेख्दैनन् । जब कुनै विषयले छुन्छ, छोएपछि भित्रसम्म महसुस हुन्छ, महसुसपछि उद्वेलित बनाउँछ र मात्र उनी कवितामा पोखिन्छन् । यिनका कविताको शिल्प वा बुनोट पक्ष साँच्चै लोभलाग्दो पनि छ । सलललल शब्द बगाएका हुन्छन् कवितामा तर शिल्पसचेत भएर । सामान्य पाठकदेखि विशिष्ट पाठकसम्मले यिनका कविता सहजै बुझ्छन् ।
प्रकृति, समाज, मानिस, राजनीति, संस्कृति आदि धेरैजसो पक्ष यिनका कविताका विषय भएर आएका छन् । कतै सामाजिक, सांस्कृतिक रूपान्तरणको आग्रह, कतै राजनीतिक परिवर्तन र शुद्धीकरणको चाहना, कतै मानवीय संवेदनाको उद्घाटन त कतै स्वाभाविक, शास्वत प्रेमको प्रस्तुति पाइन्छ यिनका कवितामा । यिनका कविता पढिरहँदा कुनै वस्तु वा घटनाको चित्र आँखाअघि आएजस्तो लाग्छ । उपयुक्त बिम्ब, प्रतीकको प्रभावकारी प्रयोगका कारण कविताको वजन गहन भएको पाइन्छ ।
व्यर्थै
अज्ञानताको मोहमा फसिरहन्छ मान्छे
र, भ्रमको टोपी लगाएर
उचो ठानिरहन्छ आफूलाई
यो मुर्दाघरभित्र बसेर
के कोही रहन सक्छ कहिल्यै जीवित ?
(मृत्युपछि प्लेटफर्ममा उभिएर, पृ. ९)
अन्त्यमा,
साहित्य सिर्जना गर्नु शब्दसँग खेल्नु हो । यसरी शब्द खेलाउँदा शब्दको थुप्रो मात्र नभएर विचार, भाव र कलाको उपयुक्त र प्रभावकारी संयोजन पनि गर्न सक्नुपर्छ । विषय र सन्दर्भलाई बिम्ब, प्रतीक र शिल्पको सहज र प्रभावकारी संयोजनसहित प्रस्तुत गर्न सकेमा मात्र उत्कृष्ट सिर्जना जन्मन सक्छ । यही तथ्यलाई कवि राधाकृष्ण भट्टराईले आत्मसात् गरेका देखिन्छ । यद्यपि, अझै पनि हामी साहित्यका नाममा नारा र कुण्ठा मात्र लेखिरहेका पो छौं कि ?
प्रतिक्रिया