देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोरेसहित ३ जनामाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान सुरु

देशान्तर

काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ ।

विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।उनले त्यसक्रममा सुन तस्करीमा संलग्न जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने पनि बताउनु भयो । विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ । अभियुक्तहरुलाई आवश्यकता अनुसार विभागमा झिकाएर सफाइको मौका दिइने पनि प्रवक्ता लामिछानेले जानकारी दिए ।

विभागले सम्पत्ति छानवीन अनुसन्धानका क्रममा अभियुक्तहरु गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ । गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले सम्वद्ध पक्ष सबैसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने पनि प्रवक्ता लामिछानेले बताए ।उनले अनुसन्धानका क्रममा सो कार्यमा संलग्न समूहलाई नै अनुसन्धानको दायरामा ल्याउन सकिने पनि स्पष्ट पारे ।

विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन् ।२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का नेता भुजुङ उनको साला नाता पर्ने डा। डेविट भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निश्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।