देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम वार्ताका लागि सिंगापुरमा

देशान्तर

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् । उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सिंगापुरका अधिकारीले किम कुन जहाजमा आइरहेका छन् भन्ने यकिन नभएकाले अन्दाज गर्दै बसेको जनाएका थिए। उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज आएका थिए। तर उत्तर कोरियाली अधिकारीले किम तीमध्ये कुन जहाजमा यात्रा गरेका छन् भन्नेबारे जानकारी गराएका थिएनन्।
सिंगापुरको चाङगी विमानस्थलमा अवतरण गरेको पहिलो कार्गो जहाजले किम चढ्ने सुरक्षित लिमोजिन गाडी ल्याएको थियो। दोस्रो एयर चाइना ७४७ जहाज आइतबार बिहानै बेइजिङबाट छुटेको करिब एक घण्टा प्योङयाङमा रोकिएपछि बेइजिङ फर्कनुको साटो सिंगापुरतर्फ लागेको थियो।
त्यसैगरी, किमको निजी जहाजले पनि सँगसँगै उडान भरेको थियो। त्यसकारण अधिकारीहरूलाई किम कुन जहाजबाट आउँछन् भन्ने यकिन थिएन। यद्यपि, एयर चाइना ७४७ बाट आफ्नो टोलीसहित निस्केका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए। उनले किमसँगको एउटा तस्बिर सामाजिक सञ्जाल टवीटरमा समेत सार्वजनिक गरेका छन्।
उत्तर कोरियाली टोलीमा वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरू रहेका छन्। उत्तर कोरियाली टोली सेन्ट रेगिस होटलमा बसेको रोयटर्सले जनाएको छ। किमले सिंगापुरका प्रधानमन्त्री लि सियेन लुंगसँग भेटवार्ता गरेका थिए। मंगलबारको शिखर वार्ताअघि नै लिले ट्रम्पसँग पनि भेट गर्ने जनाइएको छ। बीबीसीले उक्त वार्ताका लागि २० मिलियन सिंगापुर डलर (करिब १ सय ६० करोड रुपैयाँ) खर्च गर्ने जनाएको छ।
किमले सन् २०११ मा देशको शासनसत्ता सम्हालेयता तेस्रो देशमा पाइला टेकेका हुन्। यसअघि उनी दक्षिण कोरिया तथा चीनको भ्रमणमा निस्केका थिए। चीन उत्तर कोरियाको निकटस्थ राष्ट्र हो। किम गत अप्रिल महिनामा दुई कोरियाबीच भएको शिखर वार्ताका क्रममा दक्षिण कोरिया पुगेका थिए।
ट्रम्प र किमबीच मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर बैठक हुँदै छ। उक्त बैठक बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो हुनेछ।
ट्रम्पले किमसँगको शिखर वार्ता शान्ति स्थापनाका लागि ‘एक पटकको प्रयास’ हुने बताएका छन्। यसअघि ट्रम्पले वार्ताको सम्भावित नतिजाबारे आफूले एक मिनेटमै थाहा पाउने दाबी गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई नि:शस्त्रीकरणका लागि सहमत गराउने प्रयासमा जुट्ने अपेक्षा गरिएको छ।