देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीपरिषद निर्णयः प्रहरीमा तीन र सशस्त्रमा २ जना मात्रै एआइजी रहने 

देशान्तर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा एआइजीको पद घटाएर तीन जनामा सिमित गरेको छ । नेपाल प्रहरीमा रहेको १६ जना एआइजीको पद घटाएर तीन जनामा सिमित गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा तीन जना मात्रै एआइजी रहने गरी दरबन्दी कायम गरेको हो ।

यसअघि गृहमन्त्री रामबाहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालले नेपाल प्रहरीमा प्राविधिकसहित १६ दरबन्दीबाट घटाएर ५ जना कायम गर्न सिफारिस गर्नुभएको थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका समयमा प्रदेशहरुको समेत ख्याल गर्दै एआइजीको सख्या बढाइएको थियो । तर, आजको मन्त्री परिषदले ३ जनाको मात्रै दरबन्दी कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरी तर्फ एआइजीको दरबन्दी २ जनामा सिमित गरेको छ । बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आगामी आर्थिक वर्षभित्र १६ सय दरबन्दी र बाँकी दरबन्दी क्रमशः पदपूति गर्ने गृह मन्त्रालयको प्रस्तावित दरबन्दी पनि स्वीकृत गरेको छ । सरकारले तातोपानीस्थित मितेरी पुल र रसुवागढी-स्याफ्रूबेँसी र चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ । दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेगरी प्रस्ताव स्वीकृत गरेको हो ।

बैठकले नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई दिने निर्णय पनि गरेको छ । चीनको नेशनल इनर्जी अफ एडमिनिष्ट्रेशनले नेपालको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग उर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो । सोही प्रस्तावमा समझदारी गर्ने अख्तियारी मन्त्रीपरिषद बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई दिएको हो ।