राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले प्रत्यक्ष निर्वाचित तानाशाही आफूहरुले नस्विकार्ने स्पष्ट पारेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता कर्णले राजपा नेपाल संसदीय व्यवस्थामा विश्वास गर्ने र यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
नेकपा अध्यक्ष पुष्प कमल दाहालले आफ्नो विचार राख्दैमा कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जान नसकिने उनको भनाई थियो ।
उनले ईजरायलको जस्तो प्रत्यक्ष निर्वाचित तानाशाही भोग्ने पक्षमा आफूहरु नरहेको बताए ।
नेता कर्णले सांसदलाई निलम्बन नगर्ने नियामावली राजपाका सांसद रेशमलाल चौधरीको लागि नल्याईएको जिकिर गरे । उनले भने,‘कमन ल सिस्टममा कसैलाई पक्राउ गर्दैमा अपराधी हुँदैन, कसुर प्रमाणित नभएसम्म उ अभियुक्तमात्र हुन्छ, त्यसैले हामीले अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई अपराधीसरह निलम्बन गर्न हुँदैन भनेर आवाज उठाएको हो ।’
प्रतिनिधिसभा सञ्चालन नियामावाली दलहरुबीचको सहमतिमै पारित भएको जानकारी दिँदै नेता कर्णले नेपालका नेताहरु एकछिन झगडा गर्ने र अन्तिममा मिल्ने विशेषता नै भएको बताए । संविधानमै फरक दल र लिङबाट सभामुख र उपसभामुख हुनुपर्ने भनेर प्रष्ट रुपमा नै किटान गरेकोले अब एउटै पार्टीको सभामुख र उपसभामुख हुन नहुने उनले बताए ।
प्रतिक्रिया