काठमाडौं । अरब प्रायद्विपको अल कायदाको शाखाले साउदी अरबका युवराज मोहम्मद विन सलमानलाई उनको ‘पापी परियोजना’को लागि चेतावनी दिएको छ ।युवराज मोहम्मदले अत्यन्त रुढीबादी साउदी अरबमा विभिन्न नीतिगत परिवर्तनको नेतृत्व गरिरहेका छन् । यसमा सिनेमा हललाई पुनः सुचारु गर्ने, महिलाहरुमाथि गाडी चलाउन रहेको बन्देज हटाउने सुधारहरु प्रमुख छन् ।
“बीन सलमानको नयाँ युगमा मस्जीदहरुको ठाँउ फिल्म हलले लिएको छ,” यमनमा केन्द्रित रहेको अल–कायदाको उक्त शाखाले आफ्नो मदाद समाचार बुलेटिनमा राखेको एक विज्ञप्तिमा लेखिएको छ । यो विज्ञप्ती इन्टरनेटमा अतिवादी सामाग्रीको प्रचारको निगरानी गर्ने अमेरिकी गुप्तचरी सस्था ‘साइट इन्टीलिजेन्स ग्रुप’ले पहिचान गरेको हो ।“उनले इमानका पुस्तकहरुलाई पूर्व र पश्चिमका नास्तिक र धर्मनिरपेक्षतावादीको बकवासले विस्थापित गरिदिएका छन् । यसले भ्रष्टता र नैतिक पतनको फराकिलो ढोका खुलेको छ ।” विज्ञप्तीमा भनिएको छ ।
यमनको जटिल युद्ध माझ अरब प्रायद्विपको अल–कायदाको शाखा मौलाएको छ । यमनको सत्ता कब्जा गरेर बसेको हुथी विद्रोहीहरुलाई निमिट्यान्न पार्नको लागि साउदी अरबले एक सैन्य गठबन्धनको नेतृत्व गरिरहेको छ ।विज्ञप्तीमा अल–कायदाले यही वर्षको एप्रिलमा मक्काको नजिक रहेको जेद्हा शहरमा भएको डब्लुडब्लुई रेस्लिङ्ग खेलप्रति पनि विरोध जनाएको छ ।
प्रतिक्रिया