काठमाडौँ । काठमाडौमा जारी प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवशीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार तेस्रो जित दर्ता गरेको छ ।तेस्रो जित निकाल्ने क्रममा त्रिभुवन आर्मीले ४ नम्बर प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । मुलपानी क्रिकेट मैदानमा ७७ रनको झिनो लक्ष्य पछएको आर्मी १६ दशमलब ४ ओभरमा लक्ष्य भेट्टाउन सफल भयो ।
आर्मीको जितमा अनिल मण्डलले नटआउट २८,सागर पुनले २६ तथा नरेश बुढाऐरले १० रन बनाए । यसअघि,टस जितेर पहिले ब्याटिङ गरेको ४ नम्बर प्रदेश २९ ओभरमा ७६ रनमा अलआउट भएको थियो । ४ नम्बर प्रदेशका अनिल गुरुङले ४२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन ।४ नम्बर प्रदेशलाई सस्तैमा समेट्न आर्मीका बिक्रम शोब,साहब आलम र सागर पुनले समान ३ –३ विकेट लिँदा सुसन भारीले १ विकेट लिए । लगातार तेस्रो जितपछि आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ ।
यसैबीच किर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा भएको अर्को खेलमा प्रदेश नम्बर ५ ले प्रदेश ६ बिरूद्ध ९ विकेटको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६, २२ दशमलब ५ ओभरमा ५५ रनमा अलआउट भयो ।६ नम्बर प्रदेशका लागि विजय विष्टले १७ रन बनाउदा बाँकी कुनैपनि ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन ।
प्रदेश ६ को इनिङ धराशायी बनाउने कप्तान शक्ति गौचनले ३ विकेट लिए । ५६ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ५ नम्बर प्रदेशले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । जितसँगै प्रदेश ५ को सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै रहँदा पराजीत ६ नम्बर प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया