देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साबिकको एमाले कब्जा गर्ने रणनीतिमा प्रचण्ड

देशान्तर

एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएसँगै आन्तरिक गुट बनाउनका लागि नेताहरूको तीव्र चलखेल सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनाल सबै आ–आफ्ना गुट बनाएर बलियो बन्ने प्रयासमा जुटेका छन् । साबिकका एमाले र माओवादी केन्द्रमा रहेका आन्तरिक गुटहरू विस्तारै आपसमा विलयको अभ्यासमा देखिन्छन् । तर, को कता टाँसिएर कसरी गुटहरूको निर्माण हुन्छ भन्ने स्पष्ट चित्र आइसकेको छैन । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच एउटै गुट निर्माणको सम्भावना सबैभन्दा धेरै रहेको बताइन्छ । तर प्रचण्ड साबिकको माओवादी केन्द्रका सबै नेताहरूलाई सँगै राखेर एमालेमा ओली र माधव नेपालसँग असन्तुष्ट बनेका नेताहरूलाई आफ्नो गुटमा तान्ने अभियानमा लागेका छन् । देखिँदा प्रचण्ड र ओलीको एउटै गुट देखिए पनि आफ्नो भविष्य सुरक्षित गर्दै दोस्रो वरीयताका र युवा नेताहरूलाई प्रचण्ड आफ्नो पक्षमा तान्ने अभियानमा जुटेका छन् ।

ओली र प्रचण्डको गुट बन्दा माधव नेपाल र नेता नारायणकाजी श्रेष्ठबीच अर्को साँठगाँठ गर्ने तयारीमा जुटेका छन् । माधव नेपाल र प्रचण्ड दुवै कुनै पनि समयमा ओलीबाट धोका हुने निष्कर्षसहित दुवै जना एक हुने तयारीमा दुवै नेता पनि रहेका छन् । सबैभन्दा अन्योल चाहिँ झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कुन गुटमा सहभागी हुने भन्नेमा देखिन्छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल धेरै समय एकै गुटमा रहेका जोडी हुन् । एमालेको आठौं महाधिवेशनसम्म दुई नेता एउटै गुटमा थिए । यी दुई नेता बेला–बेलामा मनमुटावबाट पनि गुज्रिँदै आएका छन् । तर पछिल्लो समयमा नेपाल र ओली दुवै एउटै गुटमा देखिन्छन् । ओली र नेपाल एउटै गुटमा रहँदा नेपालसँग रहेका धेरै युवा नेताहरूले नेपालको समूह छोडिसकेका छन् । एक समयमा झलनाथ खनाल र वामदेव गौतमबीच साँठगाँठ हुँदा नेपाल र ओलीको अर्को गुट थियो । त्यसबेला खनाल समूहले तत्कालीन माओवादीलाई नजिकको शक्ति ठान्थ्यो ।

नेपाल र ओली भने माओवादीप्रति अनुदार थिए । पार्टी एकीकरणअघि ओली र नेपालबीच गोप्य सहमति भएको धेरै नेताको अनुमान रहँदै आएको छ । ओलीले नेपाललाई भावी अध्यक्षको वचन दिएको चर्चा पार्टी भित्र व्यापक छ । स्रोतका अनुसार एकीकृत महाधिवेशनमा आफू उम्मेदवार नबन्ने र नेपाललाई सहयोग गर्ने वचन ओलीले दिएका छन् । सोही कारण केही समयअघिसम्म ओलीसँग आक्रमक देखिएका नेपाल पछिल्ला दिनमा नरम र सकारात्मक बन्दै गएको पाइन्छ ।

पार्टी एकीकरणपछि केही प्रभावशाली नेताको प्रभाव डाउन भएको छ । माओवादी केन्द्रमा हुँदा दोस्रो वरीयतामा रहेका नारायणकाजी एकीकृत पार्टीमा पाँचौंमा झरेका छन् । भावी अध्यक्षको प्रतिस्पर्धीका रूपमा हेरिएका ईश्वर पोखरेललाई पाखा लगाउने गरी ओली अगाडि बढिरहेका छन् भने भीम रावल पनि पाखा परिसकेका छन् । एमालेमा उपाध्यक्ष रहेका वामदेव गौतम र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नौ सदस्यीय सचिवालयमा त परेका छन् । तर, भविष्यमा कसको फेर समात्ने भन्नेमा अन्योलमै देखिन्छन् । रावल त सचिवालयमा समेत परेका छैनन् । पूर्वप्रधानमन्त्री खनालको नवगठित पार्टीभित्र गणनासमेत हुन छाडेको छ ।

एमालेमा रहँदा माधव नेपालभन्दा माथिल्लो वरीयतामा थिए, उनी । एकीकरण हुँदा चौथो वरीयतामा धकेलिएका छन् । एमालेमा ओली निकटस्थ रहेका तत्कालीन महासचिव ईश्वर पोखरेल अहिले उनीबाट टाढिएका छन् । पोखरेलको ठाउँ तत्कालीन उपमहासचिव विष्णु पौडेलले लिएका छन् । यसो हुँदा ओली र माधव नेपाललाई तह लगाउनका लागि खनाल, पोखरेल, गौतम र रावलले प्रचण्डलाई साथ दिने देखिन्छ । त्यस्तै दोस्रो वरीयतामा रहेका घनश्याम भुसाल, योगेश भट्टराईहरूले पनि प्रचण्डलाई साथ दिने सम्भावना बढेको छ । यसो भएमा नयाँ पार्टीमा साबिकको एमालेका नेताभन्दा प्रचण्ड शक्तिशाली बन्ने विश्लेषण राजनीतिमा गर्न थालिएको छ । अत्यन्तै धूर्त मानिने अहिलेका महासचिव विष्णु पौडेल भने राजनीति जोडघटाउ गर्दै जता शक्ति बढी हुन्छ उतै हुने सम्भावना रहेको एक जना केन्द्रीय सदस्यले बताए ।