काठमाडौं । सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ ।हाल विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद छन् ।
कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह हुन्छन् । ती पदहरुमा सरकारले लोकसेवा आयोगमार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएको छ । संघीय निजामती सेवा ऐन लागू भएपछि ती पदहरुमा विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ को उपदफा ६ मा लेखिएको छ, ‘नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति गरिने छैन ।
त्यस्ता पदहरु रिक्त भएमा स्वतः खारेज हुनेछन् ।हाल कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेको निजामती किताबखानामा अभिलेख छ ।
प्रतिक्रिया