नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताएका छन् ।
काँग्रेस कास्की जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उनले अनुशासनहीनताका कारण पार्टी कमजोर बन्दै गएकाले पार्टीमा मौलाएको छाडापन नियन्त्रण र निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कारवाही नगरिएसम्म पार्टीलाई सबल बनाउन नसकिने धारणा राखे ।
लोकतन्त्र स्थापनाका लागि काँग्रेसले लामो समयदेखि अनवरत संघर्ष गरेको बताउँदै सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेस बलियो बन्नुपर्ने औँल्याए ।
“संगठन सुदृढीकरणका लागि जनतामाझ पार्टी पुग्नु अपरिहार्य छ, जनस्तरबाटै पार्टी बलियो बने मात्र अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छ ”, उनले भने ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सर्वोच्च अदालत, संवैधानिक निकायलाई थर्काएर शासनसत्ता सञ्चालनमा लागेको आरोप लगाए ।
लोकतन्त्र बलियो बन्न काँग्रेस बलियो बन्नु अपरिहार्य भएकामा जोड दिँदै नेता पौडेलले भने, “पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वमा न्याय, निष्ष्पक्षता एवं पारदर्शिता अपरिहार्य भए पनि त्यो हुन नसक्दा समस्या सिर्जना भएको छ, कार्यकर्ता पनि कर्मयोगी बन्नु जरुरी छ ।”
पार्टी नेतृत्वले एक किसिमको सहमति गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण असमझदारी बढ्ने गरेको उल्लेख गर्दै उनले त्यसतर्पm नेतृत्वले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।
प्रतिक्रिया