देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेटले कर र ऋणको दायित्व बढाएको काँग्रेसको निष्कर्ष

देशान्तर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ ।

काँग्रेस संसदीय दलको आजको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै मुख्य सचेतक बालकृष्ण खाँणले यसले अन्तर्राष्ट्रिय र राष्ट्रिय लगानीकर्तालाई अभिप्रेरित गर्न नसक्ने बताए । “उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा नयाँ रोजगारी खुल्ने देखिएन”, उनले भने ।

कृषि र उत्पादनशील क्षेत्रमा पाँच वर्षमा शतप्रतिशत वृद्धि गर्ने सरकारको प्रतिबद्धताअनुसार उक्त क्षेत्रमा लगानी अपर्याप्त भएको उल्लेख गर्दै मुख्य सचेतक खाँणले बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न नसकेको टिप्पणी भएको उल्लेख गरे ।

पर्यटनका सम्बन्धमा पनि सरकारले आवश्यकताअनुसारका कार्यक्रम ल्याउन नसकेको भन्दै पार्टीले आम नेपाली जनताको अपेक्षाअनुसार आर्थिक समृद्धि हुने आशा विपरीत बजेट आएको भनी टिप्पणी गरेको छ ।

निजी जग्गाको सम्बन्धमा बजेटमा गरिएका व्यवस्थाले नियन्त्रित अर्थतन्त्रतर्फ सरकार अभिप्रेरित भएको काँग्रेसको शंका छ ।