काठमाडौं । विभिन्न समयमा चल्ने फुटबल र क्रिकेटमा अनलाइन सट्टेबाजी गराउने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी, गौरव तिवारी, दिनेश बोगटी, विजय श्रेष्ठ र नगेन्द्र सुवाल रहेका छन् ।
केसी यसअघि म्याच फिक्सिङमा पक्राउ परेर धरौटीमा छुटेका थिए । उनलाई एएफसीले फुटबल खेल्न आजीवन प्रतिबन्ध लगाइसकेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । परिसरका डीएसपी मोहन थापाले उनीहरु पक्राउ परेको पुष्टि गरेका छन् । पक्राउ परेकाविरुद्ध आज (मंगलबार) काठमाडौं जिल्ला अदालतबाट जुवा ऐन र ठगीमा म्याद थप गर्ने तयारी छ ।
पक्राउ परेका केसी यसअिघ पनि फुटबल म्याच फिक्सिङमा पक्राउ परेका थिए । उनीहरुले फुटबल र क्रिकेटमा जितहारसँगै, रन, विकेट, चौका–छक्का र गोललगायतका विषयमा करौडौं बराबरको सट्टेबाजी लगाउने गरेको पाइएको प्रहरी स्रोतले बतायो ।
उनीहरुले अनलाइन जुवा खेलाउन बुकीको काम गर्दै आएका थिए । प्रहरीले उनीहरुबाट जुवा खेलाउन प्रयोग हुने सामग्री, ल्यापटप, मोबाइललगायतका सामग्री बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरले भने पत्रकार सम्मेलनमार्फत् सबै कुरा सार्वजनिक गर्ने बताएको छ ।
प्रतिक्रिया