दिवाकर शर्मा, गायक
नेपाली सुगम संगीतको क्षेत्रमा दिवाकर शर्मा नौलो नाम होइन । २०४९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि उनी लगातार संगीत साधनामै छन् । यसबीचमा उनले दर्जनौं गीत गाए । तर उनले जति चर्चा पाउनुपर्ने थियो त्यति पाउन सकेनन् । कारण एउटै थियो, उनले आफ्नो काम फुटकर रूपमा मात्रै गरे । मधुर स्वर हुँदाहुँदै र निरन्तर साधना गर्दागर्दै पनि उनले आफ्नो कामको जस पाउन सकेनन् । भन्छन्, समयभन्दा अघि र भाग्यभन्दा पहिले, कसैले केही पाउन सक्दैन । सायद दिवाकरको जीवनमा पनि त्यही लागू भयो । अर्थात् दिवाकरको समय बल्ल आएको छ । यतिबेला उनी आफ्नो गायकीले श्रोताको मन जितिरहेका छन् । हालै उनले जीवनको पहिलो सांगीतिक एल्बम बजारमा ल्याएका छन्, तिर्खाकी पानी । दिवाकरको एकल स्वरमा प्रकाशित एल्बम तिर्खाकी पानीले नेपाली सुगम संगीतका पारखीलाई मीठो खुराक दिइरहेको छ । पाँच वटा गीत समेटिएको एल्बममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत शब्द दिएका छन् । प्रस्तुत छ सोही एल्बम र सुगम संगीतमा केन्द्रित रही गायक दिवाकर शर्मासँग देशान्तरले गरेको कुराकानीको सारसंक्षेप :–
गाउने शोक कहिलेदेखि सुरु भयो ?
पहाडमा जन्मिएँ, पहाडकै रहनसहनमा लोकगीत गाउन थालेँ । जनजीवनमा भिज्दै गाउने, रमाइलो गर्ने सानैदेखिको शोक हो । संखुवासभा चैनपुरमा मेरो जन्म भएको हो । सानैमा काठमाडौं आएँ । यही पढेँ । पहिलेदेखि गाउने मान्छे । सांगीतिक परिवार थियो । बुवा भजन गाउनुहुन्थ्यो । त्यसको पनि प्रभाव पर्यो । हारमुनियम बजाएर संगीत सिक्न थालेँ । स्कुल, कलेजमा पढ्दा पनि गाउने गर्थे । विशेषगरी आधुनिक संगीतप्रति मेरो रुचि २०४०–४५ पछि झन् बढ्यो । कलेज पढ्दाको टाइममा रुचि बढेपछि मैले शास्त्रीय संगीत पनि सिकेँ । विशेषगरी सुगम संगीतप्रति रुचि भएकोले मैले त्यही किसिमका गीतहरू गाउँदै आएँ । २०४९ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेँ । २०५० सालमा मैले पहिलो गीत रेकर्ड गराएँ । यसबीचमा मैले विभिन्न गीतहरू गाएको छु । भजन, स्वदेश गान, आधुनिक सबै खाले गीतहरू गाएको छु । र लगभग २५ वर्षपछि एउटा पहिचान चाहिन्छ भन्ने अनुभव भएपछि मैले एउटा सोलो एल्बम निकाल्ने प्रयत्न गरेँ । त्यसैको परिणाम यतिबेला श्रोतामाझ मेरो पहिलो एल्बम ‘तिर्खाकी पानी’ लिएर उपस्थित भएको छु ।
गाउन सुरु गर्नुभएको निकै समय भए पनि एल्बम निकाल्न चाहिँ ढिला गर्नुभएछ नि, किन ?
समय भन्ने कुरा मानिसको वशमा हुँदो रहेनछ क्यारे । म यसो गर्छु भनेर मात्रै नहुँदो रैछ । मेरो जीवनमा पनि त्यस्तै भयो । इच्छा हुँदाहुँदै पनि परिस्थितिवश पूरा हुन सकेन । सायद अलि अगाडि नै मैले एल्बम निकाल्न सकेको भए अहिलेभन्दा धेरै सस्तोमा निकाल्न सकिन्थ्यो । त्यतिबेला एउटा गीत तयार गर्न ४–५ हजार रुपैयाँ भए पुग्थ्यो । अहिले ४०–५० हजार पर्छ । म्युजिक भिडियोको त कुरै छोड्दिनुस् । खैर पैसा जे जति खर्च भए पनि श्रोतालाई राम्रो चिज पस्कनुपर्छ भन्ने मनसायले यसपालि एल्बम निकालेँ ।
एल्बममा कस्ता गीत समेट्नु भएको छ ?
यसमा विशेषगरी सुगम संगीतको धारलाई छोएको छु । अहिले नेपाली संगीत क्षेत्रमा बिकाउ गीतहरूको हालिमुहाली छ । तर मैले आफ्नो एल्बममा बिकाउभन्दा पनि टिकाउ गीत रोजेको छु । जस्तो कि राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीत राखेको छु । राष्ट्रकविले आजभन्दा ७० वर्ष अगाडि लेख्नुभएको ‘तिर्खाकी पानी चैतकी रानी बाटोमा भेटेको, यो गीत मैले गाएको हैन थकाइ मेटेको…’ बोलको गीत एल्बममा राखेको छु । यसमा शक्तिवल्लभ दाइले संगीत दिनुभएको छ । त्यस्तै सुवासचन्द्र ढुंगेल पनि राम्रो गीतकार हुनुहुन्छ नेपाली संगीतको । त्यस्तै नवराज लम्साल, गोविन्द कुइँकेलजस्ता गीतकारहरूको गीत समवेश गरेको छु । समग्रमा भन्नुपर्दा एल्बममा उत्कृष्ट गीतहरू राखिएका छन्् । संगीतकार पनि मैले त्यहीअनुसार पाएँ । तिर्खाकी पानी.. बोलको गीतको म्युजिक भिडियोमा स्वयं राष्ट्रकविले अभिनय गर्नुुभएको छ ।
राष्ट्रकविलाई कसरी आकर्षित गर्नुभयो ?
उहाँ साहित्यको सिद्धहस्त व्यक्तित्व हुनुहुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटापछि विशेषगरी नेपाली साहित्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाम आउँछ । उहाँको एउटा गीत गाउन पाए हुन्थ्यो भन्ने चाहना थियो । त्यो चाहनाबमोजिम मैले उहाँसँग कुरा गरेँ । उहाँले मलाई किन्नर किन्नरीबाट गीत छानेर दिनुभयो । २०२२ सालमा प्रकाशित भएको हो त्यो गीतीसंग्रह एल्बमको टाइटल तिर्खाकी पानी पनि राष्ट्रकविले नै जुराइदिनुभएको हो । उहाँकै सल्लाहबमोजिम म अगाडि बढेँ । गीत तयार भएपछि मैले म्युजिक भिडियोमा खेल्नुपर्छ भन्ने आग्रह गरेँ । त्यसमा पनि उहाँ राजी हुनुभयो ।
एल्बमको बारेमा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
प्रतिक्रिया असाध्यै राम्रो आइरहेको छ । तिर्खाकी पानीलाई सारा मिडियाले राम्रो कभर गरेका छन् । एल्बमले वास्तवमै राम्रो चर्चा पाइराखेको छ । एल्बममा पाँचवटै गीत मेलोडियस छन् । यसका शब्दहरू उत्कृष्ट छन् । समाजभित्र पृथक्पृथक् विचारहरू छन् ती विचारहरूसँग मिल्दाजुल्दा गीतहरू राखेको छु । रुँदै काखमा लिएर के हुन्छ लासलाई फूल दिएर के हुन्छ… भन्ने जस्ता मार्मिक शब्दहरू छन् ।
एल्बम निकाल्न कत्तिको सजिलो वा गाह्रो रैछ ?
वास्तवमै भन्नुपर्दा कठिन छ । धेरै महँगो हुँदै आयो नेपाली संगीत । कुनै फाइदा छैन । बिक्री गर्नलाई कि आफैं हिँड्नुपर्यो । त्यसरी म गर्न सक्दिनँ । एल्बम निकाल्न खर्चिलो छ । एउटा गीत बनाउन ४०–५० हजार रुपैयाँ खर्च हुन्छ । डिजाइन गर्नुपर्यो । मार्केटिङको लागि एउटा कम्पनीलाई दिनुपर्यो। म्युजिक भिडियो तयार गर्नैपर्यो। म्युजिक भिडियो बनाउन त्यत्तिकै खर्चिलो छ । यी सबै कारणले गर्दा गाह्रो छ ।
यसको प्रतिफल के ? आत्मसन्तुष्टि ?
आत्मसन्तुष्टि नै हो । कसैले तैंले राम्रो काम गरिस् है भन्दै खुसी होइन्छ । त्यसलाई पैसासँग तुलना गरेर मात्र हुँदैन । कसैले तपाईंले गरेको कामलाई प्रोत्साहन दिन्छ भने त्यहाँभन्दा ठूलो कुरा के हुन्छ ? मैले आफूलाई चिनाउनु पनि थियो । मैले पहिला गरेका काम त्यति प्रभावकारी हुन सकेन । तर एल्बमको रूपमा आइसकेपछि राम्रो प्रतिक्रिया पाइरहेको छु । एउटा राम्रो चिज बाहिर ल्याउन सकें भन्ने लागेको छ । एउटा कीर्ति पनि त रहन्छ नि । एल्बम भनेको एउटा दस्तावेज हो, यो सधैं रहन्छ । त्यसैको लागि एल्बमको स्वरूप दिनुपर्ने अवस्था आएको हो ।
अहिलेसम्म कति जति गीत गाउनुभयो ?
मैले धेरै गीत गाएँ । विशेषगरी भन्नुपर्दा मैले स्वदेश गान, आधुनिक, भजन सबैखाले गीतहरू गाएको छु । कांग्रेस पार्टीमा आबद्ध मान्छे पनि हुँ । तरुण दलको गीत गाएको छु । कांग्रेससँग सम्बन्धित विभिन्न सामाजिक संस्थाहरूको गीत गाएको छु । मोटामोटी ४०–५० वटा गीत संग्रृहीत छन् ।
सुगम संगीतमा चाहिँ तपाईंको आकर्षण कसरी भयो ?
तपाईं संगीतलाई माया गर्नुहुन्छ, संगीत सिक्नुहुन्छ, संगीतलाई बुझ्नुहुन्छ र तपाईंसँग त्यही किसिमको भोकल पनि छ भने तपाईंले विशेषगरी सुगम संगीत नै रोज्नुहुन्छ । किनभने सुगम संगीत टिकाउ संगीत हो । नेपाली संगीतमा केही योगदान गर्न सकिन्छ कि भन्ने चाहनाले यो क्षेत्र रोजेको हुँ ।
समकालीन गीत संगीतलाई चाहिँ कसरी हेर्नुभा’छ ?
साधना गरेर गीत गाउने चलन अहिले हटेको छ । प्रविधिले गर्दा रियाज, साधना भन्ने कुरा गौण भएको छ । पहिला सुगम संगीतका भक्तराज आचार्य, नारायणगोपाल राम्रा कलाकार हुनुहुन्थ्यो । अहिलेको अवस्थामा त्यस्ता गीत प्रायः कम छन् । मलाई के लाग्यो भने त्यस्तो गीत सुन्ने मान्छे अझै पनि छन् । होला डाङडुंगे, नाच्ने गाउने गीतको पनि एक किसिमका श्रोता होलान् । त्यसको आफ्नो ठाउँ छ । तर सुगम संगीतको छुट्टै स्थान छ ।
एल्बम निकालेपछिको प्रतिक्रियाले तपाईंलाई कत्तिको उत्साहित बनाएको छ ?
धेरै उत्साहित बनाएको छ । मलाई धेरैले हौसला दिनुभएको छ । टेलिभिजन, पत्रपत्रिकामा चर्चा भएको छ । विभिन्न एफएमहरूले मेरो गीतलाई संग अफ द विक बनाएका छन् । राम्रो गीत गाएँछु भन्ने लागेको छ । त्यो कारणले मलाई उत्साह थपेको छ । म यो एल्बम लिएर पूरै पश्चिमक्षेत्र घुमेँ । त्यहाँका पत्रकारमाझ दिवाकर शर्मा गायक रहेछ भन्ने चिनारी बनेको छ । एल्बमको राम्रो चर्चा भइरहेको छ । अब पूर्वतिर जाने तयारीमा छु ।
अबको योजना के छ ?
एल्बमको प्रचारप्रसारमा अझै लाग्छु । र यही २०७५ सालभित्र म एउटा स्टेज कार्यक्रम गर्छु । तिर्खाकी पानी लाइभ सो गर्ने चाहना छ । त्यसपछि केही गीतहरू रेकर्डिङको क्रममा छन् । त्यसलाई पनि सकाउँछु । संगीतलाई निरन्तरता दिनेछु ।
प्रतिक्रिया