काठमाडाै । इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको फाइनलमा स्थान बनाउने खुड्किलोको रुपमा रहेको एमिनेटरमा राजस्थान रोयल्स चुकेको छ । कोलकातामा बुधबार बेलुका भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्ससँग २५ रनले पराजित हुँदै राजस्थान बाहिरिएको छ ।
यसको अर्थ कोलकाताले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
कोलकाताले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४४ रन मात्रै बनायो । उसका लागि अजिन्क्या राहाणेले ४६, सञ्जु सामसोनले ५० तथा राहुल त्रिपाठीले २० रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।
त्यसअघि ब्याटिङ्ग गरेको कोलकाताले सात विकेटको क्षतिमा १६९ रन बनाएको थियो । उसका लागि कप्तान दिनेश कार्तिकले ५२, आन्द्रे रुसेलले नटआउट ४९ तथा शुबमन गिलले २८ रनको योगदान दिए ।
प्रतिक्रिया