काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन हुन नपाउँदै नेपाली काँग्रेसले पार्टी एकता टिकिराख्नेमा आशंका व्यक्त गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता बन्दा भन्दा बढी खतरा सत्ता बनिसकेपछि हुने भन्दै दुई विपरित आन्दोलनका धारबाट आएका पार्टीका नेताबीच भविष्यमा द्वन्द्व भई समस्या निम्तन सक्ने खतरा औँल्याएका छन् ।
कम्युनिष्ट आन्दोलनका विपरित धारबाट आएका एमाले र माओवादीको बीचमा केन्द्रीय सत्तामा भविष्यमा को हाबी हुने भन्ने मनोविज्ञान रहन सक्ने शर्माको भनाइछ । देशान्तरसंग कुरा गर्दै प्रबक्ता शर्माले पार्टी–पार्टीबीचको विगतको द्वन्द्व अन्त्य भएर एक ठाउँमा उभिँदा नयाँ ढंगको दम्भ सिर्जना हुनसक्ने संकेत गरेका छन् । उनले नयाँ ढंगको दम्भ सिर्जना भएका त्यो लोकतन्त्रका लागि खतरनाक हुन सक्ने दावी गरेका छन् ।
शर्माले दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्ने र बलिया दलहरुबीच एकता हुँदा त्यस्ता दलको उपस्थितिले लोकतन्त्रलाई बलियो बनाउन मद्दत गर्न सक्ने पनि बताए । उनले नेपाली काँग्रेस पार्टीले कुनै पनि दलको एकतालाई स्वागत गर्ने र प्रतिस्पर्धामा रहेका मुख्य दलहरुलाई लोकतान्त्रीक बाटोमा हिडाउन प्रयत्न पनि गर्ने बताए ।
प्रतिक्रिया