सल्लेरी । सगरमाथा आरोहणको विहिवार पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । विहिवार आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उनले बताए । विहवारसम्मको तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् ।
दोर्जीबाट १५ औं पटक शिखरमा
दोर्जी ग्याल्जेन शेर्पाले १५ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । विहिवार बिहान ७ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भीम विश्वकर्माले जानकारी दिए । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का दोर्जीसहित अन्य दर्जनौ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
पासाङ हिलाले पनि आठौँ पटक शिखरमा
त्यसैगरी खुम्बु पासङल्हमु गाउपालिका–४ का पासङ हिला शेर्पाले पनि आठौँ पटक सगरमाथाको सफल आरोहण गरेका आधारशिविरबाट मेनेजर विश्वकर्माले जानकारी दिए । अहिले अधिकांश आरोही क्याम्प २, ३ र ४ मा पुगेर शिखर जाने तयारी जुटेका छन् ।
प्रतिक्रिया