काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्माणका काममा लापरवाही गर्ने ठेकेदारको सूची मागेका छन् । लापरवाही गर्ने ठेकेदारलाई कानुनबमोजिम कारवाही गर्ने उद्घोष गरेका गृहमन्त्रीको निर्देशनपछि बिहीबार गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने र गुणस्तरहीन निर्माण गर्ने ठेकेदारहरुको सूची पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
अबको एक हप्ताभित्र देशभरबाट यस्ता ठेकोदरको सूची मन्त्रालयमा आउनेछ । बिहीबार बिभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्री थापाले यस्तो सूची बनाउन निर्देशन दिएका छन् ।गृहमन्त्री थापाको निर्देशन अनुरुप गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई पठाएको परिपत्र गरेको हो ।
गृहमन्त्रालयले यस्तो सूची आइसकेपछि उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसीमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधिमा काम सम्पन्न नगरे पक्राउ गर्ने बिहीबारको बैठकमा निर्देशन दिएका थिए ।
प्रतिक्रिया