हेटौंडा । कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टीभित्र रहेको गुट-उपगुटले चुनावमा हारिएको बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरले बुधबार आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेस गुटबन्दीका कारण हारेको बताए। ‘निर्वाचनमा हार्नुको एक कारण पार्टीभित्रको गुटबन्दी पनि हो,’ उनले भने, ‘टिकट वितरण गर्दा राम्रो मान्छे भन्दा आफ्नो मान्छे छान्ने काम भएको छ, पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न म अन्तिमसम्म लाग्छु।’ उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नका लागि आफू अन्तिम अवस्थासम्म लाग्ने बताएका छन्।
कोइरालाले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउदै बाम एकताले आफूहरुलाई कुनै असर नगर्ने दाबी गरे। उनले एकताबद्ध भएर काम गर्ने हो भने बाम एकताले केही असर गर्न नसक्ने बताए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले राज्य संविधान अनुसार नचलेको तर्क गरे। ‘अधिनायकवाद र सर्वसत्तावाद बाजा बजाएर आउदैन, त्यसको संकेत देखिन थालेको छ,’ उनले भने, ‘सिंहदरबारमा अधिकार केन्द्रीकृत गर्ने काम भइरहेको छ।’ कांग्रेसले युद्ध नभइ लडाई मात्रै हारेको भन्दै राष्ट्रिय एजेण्डाको नेतृत्व गरिरहेको दाबी गरे।
वडातहसम्म प्रशिक्षण चलाउन कांग्रेसले प्रशिक्षक तयार गरेको हो। तालिममा जिल्ला कार्यसमिति, नगर सभापति, कांग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार, निर्वाचित वडाअध्यक्षहरु सहभागी छन्।
प्रतिक्रिया