देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शारदा शर्माको ‘त्यो समय’

देशान्तर

गत बुद्ध पूर्णिमाका दिन एउटा राम्रो साहित्यिक कार्यक्रम थियो । त्यस दिन शारदा शर्माको नवीनतम कृति ‘त्यो समय’को सार्वजनिकीकरण हुने थियो । शारदा शर्माको कार्यक्रममा जान मलाई सहज छ । छिमेकी हुनाले उनीहरूकै साथ जान–आउन पाइन्छ । म अचेल कार्यक्रममा भरसक जान नपरोस् भन्ने सोच्दछु । प्रमुख÷सभाप्रमुख भएर त झन् होइन । तर शारदा शर्माको यो कार्यक्रममा जानमा अन्य कारण पनि नभएका होइनन्, सबैभन्दा मुख्य कारण भने पुस्तकै थियो । पुस्तक पढ्न थालेपछि त्यसले आफ्नो महत्व जनाउँदै गयो । पुस्तक राम्रो लाग्यो र मैले जाने निधो गरेँ यसैमा । अर्को कार्यक्रम पन्छाइदिएँ । ‘त्यो समय’ साँच्चिकै राम्रो लाग्यो । आफ्नै समयको वरिपरि घुमेकाले, निकटता पनि अनुभव हुन्छ, पुस्तकसित । मैले लेखिकालाई, बधाई दिँदै भनेँ पनि– “यो पुस्तक रोचक मात्र छैन, मार्मिक पनि छ ।” वास्तवमा ‘त्यो समय’प्रति मेरो निचोड धारणा नै यही हो । यद्यपि लेखिकालाई त्यसोभन्दा मैले पूरा पुस्तक पढिसकेको थिइन् ।
×××
मान्छे त ठिक्क थिए । बोलाए जति प्रायः आएका थिए । राजव, राधेश्याम अधिकारीजस्ता वरिष्ठ साहित्यिक, वरिष्ठ कानुनविद् भेट भए धेरै दिनमा । अन्य कतिपय लेखक, पत्रकार भेट भए, कुराकानी भयो, फेरि भेट्नुपर्छ भनेर फोन नम्बर आदि लेनदेन भयो गएपछिको रमाइलो त्यो पनि थियो । कार्यक्रम अधि हरिहर विरहीले मलाई सोधे– “कस्तो छ किताब ?”
मैले भनेँ– “राम्रो छ ।”
विरहीले सोधे– “औसत राम्रो कि ?”
मैले भने– “होइन, औसतभन्दा बढी ।”
मैले ठानेको थिएँ, विरहीले पुस्तक नपढेकाले जिज्ञासावश सोधेका होलान् । भरे त उनी एक प्रमुख वक्तामध्ये एक भएर प्रस्तुत भए । वरिष्ठ पत्रकार त उनी हुन् नै, तर सरलतासाथ अरूको राय जान्ने खुबी पनि रहेछ भन्ने लाग्यो । उनले एक वा दुई प्रसंग आफ्नो बोलाइमा उल्लेख गरेका थिए । पछि भेट्दा भनेँ– “विरहीजी तपाईंले उल्लेख गरेको रोचक छ तर म अहिले त्यहाँसम्म पुगेको छैन ।” व्याख्या सबै विद्वानको राम्रो थियो । एकजना मात्र नाउँ लिनुप¥यो भने इन्द्र अधिकारीको नाउ लिन्छु । म उनीलाई चिन्न त चिन्दिनँ तर प्रभावकारी लागेकोले श्रोताको रूपमा उल्लेखनीय मानेँ ।
×××
यस पुस्तकका लागि शारदा शर्मालाई के गरी मूल्यांकन गरुँ ? उनी र नरहरि आचार्य मेरो छिमेकी हुन् वा म उनको छिमेकी हुँ । नरहरि आचार्यसँग त अझ पुरानो, शिक्षणकै समयको परिचय हो । हाम्रो सम्बन्ध सधंै राम्रो रहेको छ । म उनीहरूकहाँ बेलाबेलामा जान्छु पनि । नरहरि आचार्यको बिसन्चोअद्धि उनकै प्रांगणमा कति कार्यक्रम हुन्थ्यो । मलाई सबैभन्दा सजिलो र टन्टारहित उनकै घरको कार्यक्रममा जाँदा लाग्थ्यो । शारदा शर्माका लेख, कृतिहरू अरू पनि पढेको छु । यसअघि ‘कम्प’ उपन्यासको विमोचनमा पनि यसैगरी भाग लिएको थिएँ । पुस्तक पढ्दा म भूमिकादेखि नै पढ्छु र पूरा पढ्छु । कृष्ण खनालको भूमिका मलाई निकै राम्रो लाग्यो । यो कुरा कार्यक्रममा कृष्ण खनाल भेट्दा पनि भनेँ । लेखिकाले पुस्तकमा कतै मैले आख्यानीकरण गरिन भनेकी छन् । त्यो सत्य हो । तर शैलीलाई उनले यति रोचक बनाएकी छिन कि कुनै उपन्यासभन्दा कम पनि लाग्दैन । यी कुरा त्यस दिन वक्तातर्फबाट पनि आएको थियो । किताबको समीक्षा÷मूल्यांकन गर्दिनँ । गरे पनि यही हो कि, शारदा शर्मालाई छिमेकीका रूपमा म जति चिन्थेँ, यो पुस्तकले उनको परिचयको वृद्धि गरायो । यो उनको लेखनले हो ।
×××
कार्यक्रम अलिक लामोजस्तो लाग्यो, श्रोतालाई, किन ? फर्कंदा नरहरि आचार्य भन्दै थिएँ– “टाइम त सबैलाई आधा घण्टा दिएको हो, सबैले त्यतिकै बोले पनि के के भयो ।” मैले भनेँ– “म त, कुनै कार्यक्रममा गएँ भने सिंगै दिन त्यही कार्यक्रमलाई छुट्याउँछु, त्यसकारण फरक पर्दैन । ज्ञान–वृद्धि नै हुन्छ । तर त्यसो भन्दाखेरी यो पनि सोचेँ, त्यही ज्ञान वृद्धि पनि अलिक छरितो किसिमले भइदिए झन् राम्रो होइन र ? कार्यक्रमको लगत्तैपछि मलाई फर्किन मन लागेको हो । म निस्केको पनि हुँ । फेरि फर्के नभनीकन जाँदा फेरि उहाँहरूलाई असजिलो होला सँगै आएको मानिस । सोध्न जाउँ भने, तनाव होला । म आफ्ना कारणले यस्तो कुनै पनि स्थिति नआओस् भन्ने चाहन्छु । फलतः म त्यतै हिँडिरहे खाजा–चिया खाँदै । कुनै कुनै मानिससँग दुई–तीन पटक पनि भेट्दै । फर्कंदा नरहरि आचार्य र म कार्यक्रम र वक्ताहरूको चर्चा गर्दै हिँड्यौं । सजिलो के थियो भने, उहाँहरूसँग हिँड्दा ठ्याक्कै घरमै पुगिन्छ, त्यसकारण मैले हतार नगरेको राम्रै थियो ।
अहिले ‘त्यो समय’ पढिसकेको छु । लेखिकालाई फेरि बधाई दिन एकपटक जानुछ ।