काठमाडौँ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय महाधिवेशन माघ २८ गतेदेखि जनकपुरमा हुने भएको छ ।तीन दिनदेखि जारी काठमाडौँमा फोरम नेपालको केन्द्रीय समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।प्रदेश दुईको राजधानी जनकपुरमा २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन हुने केन्द्रीय सदस्य जयराम यादवले बताए ।
फोरम नेपालको तेस्रो महाधिवेशन गर्ने समय पुगिसकेको थियो । तर, त्यतिबेलै अशोक राइको पार्टीसँग एकीकरण गरेपछि महाधिवेशनका लागि म्याद थपिएको थियो । र, सोही म्याद अनुसार महाधिवेशनको मिति तय भएको बताइएको छ । २०५४ सालमा एक गैरसरकारी संस्थाका रुपमा उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरमको स्थापना विराटनगरमा भएको थियो । फोरम नेपालको पहिलो महाधिवेशन २०६० सालमा भएको थियो ।
२०६२–०६३ को मधेश आन्दोलनको नेतृत्व गरेको फोरम नेपालले अन्तरिम संविधानमा संघीयता भन्ने शब्दले लेखाउन सफल भएको थियो ।२०६४ सालको संविधानसभा चुनावमा फोरमले दलका रुपमा भाग लिई प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बनेको थियो । दोस्रो महाधिवेशन २०६५ सालमा वीरगञ्जमा भएको थियो ।
प्रतिक्रिया