काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख २२ मा पार्टी एकीकरण गर्ने भनिएपनि पार्टी एकता नहुने भएको छ । बिहिबार बिहान प्र्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचमा भएको भेटवार्तामा नयाँ पार्टीमा दुवै पार्टीका आधाआधा केन्द्रीय सदस्य हुनुपर्ने, विधानमा जनयुद्ध शब्द राख्नैपर्नेलगायत माग माओवादी केन्द्रले गरेपछि पार्टी एकता कुरा मिल्न नसकेको हो । दुवै पार्टीले यी विषयमा कुरा मिलाउने जिम्मा पार्टी अध्यक्षलाई दिएपछि शीर्ष तहमा वार्ता भइरहेको छ ।
छलफल सकारात्मक भएको र दुई अध्यक्षले पार्टी एकताको मिति नै तोक्नेगरि अझै गृहकार्य गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले बताए । विहीबारको छलफल निर्णायक हुने भनिए पनि केही विषयमा अझै कुरा मिल्न सकेको छैन ।
प्रतिक्रिया