देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

देशान्तर

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।नेपालमा ‘शक्तिको निगरानीः मिडिया, न्याय र विधिको शासन’नारासहित दिवस मनाइँदै छ ।नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं उपत्यकासहित सबै जिल्लामा दिवसको अवसरमा बिभिन्न कार्यक्रम भइरहेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको बबरमहलबाट नयाँ बानेश्वरसम्म प्रभातफेरी आयोजना गरेको छ ।प्रभातफेरी पछिको कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको भए पनि त्यसलाई व्यवहारमा लागु गर्न नसकिएको बताए ।

उनले भदौ महिनादेखि लागु हुने फौजदारी आचारसंहितामा समाचार लेखेकै आधारमा पत्रकारलाई सजाय गर्न सक्ने धेरै प्रावधान रहेको भन्दै त्यो प्रेस स्वतन्त्रताप्रति बाधक हुने धारणा राखेका छन ।महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले विगतको तुलनामा प्रेस स्वतन्त्रताको अवस्थामा निकै सुधार आएको भएतापनि प्रवृत्तिगत आधारमा भने चुनौती कायमै रहेको बताए । उनले प्रेस स्वतन्त्राको अवस्था सुधार्न केही नीतिगत, कानुनी, संरचनागत र व्यावहारिक क्षेत्रमा काम गर्नुपर्ने बताएका थिए ।

त्यसैगरि महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले विश्वमा पत्रकारमाथि भैरहेको हत्या तथा आक्रमणको विरोध गर्दै त्यस्ता कुकृत्यको अन्त्य हुनुपर्ने बताए । उनले प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रिक सरकारको दायित्व रहेको भन्दै पत्रकारिताका लागि उचित वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।

दिउँसो युनेस्कोसमेतको सहकार्यमा एसियाको प्रेस स्वतन्त्रता अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सार्वजनिक तथा अन्तर्क्िरया कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा सगरमाथा आरोहण गरिरहेका ७ जना पत्रकार महिलालाई लैंगिक समानता पुरस्कारबाट सम्मानसमेत गरिने छ ।