नेपाल विद्यार्थीसंघले भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा देखिएको बेथिति र मनपरितन्त्रको विरोध गरेको छ । कलेज व्यवस्थापन पक्षमा देखिएको विवादका कारण एकले अर्काको कुरा नसुन्ने र फरक फरक सूचना निकाल्ने जस्ता गैरजिम्मेवारीपूर्ण क्रियाकलाप बढेको भन्दै नेविसंघले बुधबार पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवि पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
नेविसंघका केन्द्रीय सदस्य तथा पोखरा विश्व विद्यालय केन्द्रीय समन्वय समितिका संयोजक नवराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले व्यवस्थापनको जुंगको लडाईले पठन पाठन प्रभावित भएको भन्दै उपकुलपति पौडेलको गम्भिर ध्यानकर्षण गराएको हो ।
क्याम्पसमा प्रिन्सिपल र भाइस प्रिन्सिपल कै नियुक्तिका विषयलाई लिएर वैधानिकताको प्रश्न उठदा समेत मौन बस्नुले विश्वविद्यालय आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको नेविसंघको ठहर छ । हालको क्याम्पस सञ्चालकहरुबाट क्याम्पस सञ्चालन गर्न नसक्ने दावी गर्दै नेविसंघले उक्त क्याम्पसलाई पोखरा विश्वविद्यालयकै आङ्गिक क्याम्पसको रुपमा रुपान्तरण गर्न समेत माग गरेको छ ।
२०५९ पौष ३० गते पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी गैर नाफामुलक सामाजिक संस्थाको रुपमा सञ्चालनमा रहेको क्याम्पस निजीकरण गर्ने, विश्वविद्यालयकै गरिमामा आँच पुग्ने कार्य गर्ने जस्ता क्रियाकलाप हुँदा पनि विगतमा विश्वविद्यालयले कुनै चासो नदेखाउने विषयलाई ने.वि.संघले गम्भिर रुपमा हेरेको छ, ज्ञापन पत्रमा भनिएको छ ।
विद्यार्थी र सार्वजानिक सम्पत्तिको भविष्य अन्योलमा पर्दा समेत विश्वविद्यालयले कुनै चासो नदेखाए हाल उक्त क्याम्पस विरुद्ध घोषित आन्दोलनका कार्यक्रम विश्वविद्यालय विरुद्ध गर्ने चेतावनी दिइएको छ । व्यवस्थापनको विवादका कारण बढेको मनपरितन्त्रले पठन पाठनसँगै चौतर्फी असर परेको भन्दै विगत केही समयदेखि नेविसंघले आन्दोलन गर्दै आएको छ ।
यसैगरी
नेपाल इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक लम्बोधर न्यौपाने लगायत निजीकरणमा साथ दिने र लिखित समर्थन गर्ने सञ्चालकलाई समते कारवाहीको माग गर्दै सञ्चालक समितिबाट निकाशित गर्नु पर्ने माग गरेको छ । संयोजक त्रिपाठीकै नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाउँदै सामाजिक संस्थाको खोल ओडेर क्याम्पस भित्र गरिएका अनियमितता र कानून विपरित क्रियाकलपाको छानविन गरी दोषी उपर कारवाही गर्न पनि माग गरिएको छ ।
उक्त कलेजमा हुने गरेको अनियमितता र समस्याका विषयमा आफूहरुले उठाएको मागको सुनुवाई नभए विद्यार्थीको भविष्यको सुनिश्चितता र भविष्यमा सामाजिक संस्थाको सम्पत्तिमा गद्धेनजर राख्नेलाई कारवाही गर्न नेविसंघ जिल्ला प्रशासन विरुद्ध कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।
यसैबीच
नेपाल ईन्जिनियर्स एशोसिएसनले नेपाल ईन्जिनियरिङ कलेलमा देखिएको विवादलाई गम्भिर रुपमा लिएको जनाएको छ । कलेजमा देखिएको विवाद आम ईन्जिनियरहरुको प्रतिष्ठामा जोडिएको र २१ सय नयाँ ईन्जिनियर विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड भएको एशोसिएसनको ठहर छ ।
व्यवस्थापनबीचको विवादका कारण शिक्षक तथा कर्मचारीहरुको रोकेको पारिश्रमीक उपलब्ध गराउन माग गर्दै वर्तमान विवादलाई दीर्घकालिन समाधान गरिदिन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्रीलाई निर्देशनात्मक पहल गरिदिन आग्रह गरिएको छ ।
प्रतिक्रिया