देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियामा बित्तिय संकट : समस्यामा ठूला बैंक

देशान्तर

काठमाडौं । अस्ट्रेलियाका ठूला बैंक तथा वित्तीय संस्थाविरुद्ध ग्राहकले उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको छ । सरकारद्वारा गठित बैंकिङ रोयल कमिसनले त्यहाँका ठूला बैंकहरू कमनवेल्थ, अस्ट्रेलिया एन्ड न्युजिल्यान्ड (एएनजेड) र नेसनल अस्ट्रेलिया बैंक (न्याब), वेस्टप्याक लगायतका वित्त कम्पनीहरूमाथि सुनुवाइ सुरु गरेको हो ।

ती बैंकहरूविरुद्ध परेको उजुरीमा ग्राहकको मृत्यु भइसकेपछि पनि शुल्क लिएको, ग्राहकलाई गलत आर्थिक सल्लाह उपलब्ध गराएको लगायतका आरोप लगाइएको छ । रोयल कमिसनले ग्राहकको विभिन्न उजुरीमाथि ती बैंक र आर्थिक सल्लाह दिने कम्पनीमाथि छानबिन सुरु गरेको हो ।

सुनुवाइ सुरु भएपछि अस्ट्रेलियाको ठूलोमध्येको आर्थिक सल्लाह र योजना तथा इन्स्योरेन्स सुविधा प्रदान गर्ने कम्पनी एएमपीका प्रमुख कार्यकारी अधिकृत क्रेग मिलरले राजीनामा दिएका छन ।

अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएअनुसार कम्पनीहरूले आफ्ना ग्राहकहरूलाई गलत आर्थिक सल्लाह दिएर आर्थिक नोक्सानी र्पुयाएको, सेवा नदिए पनि शुल्क लिएकोलगायतका अनेकौं उजुरी परेका हुन् ।

यसले यहाँका ठूला बैंकहरूले समस्या झेलिरहेका त छन् नै विश्वाससमेत गुमाउन सक्ने विश्लेषण गरिएको छ । अहिले अनुसन्धानमा परेका बैंकहरू अस्ट्रेलियामा रहेका उच्च तहका बैंकहरू हुन् । जसमा ठूला व्यवसायी मात्र नभएर सामान्य विद्यार्थीले समेत आफ्नो खाता सञ्चालन गर्छन् भने दसौं हजारको संख्यामा सेयरधनी छन् ।

बैंक तथा वित्तीय कारोबार गर्ने संस्थाहरूको खराब आचरणको अनुसन्धान गर्नकै लागि गत वर्ष डिसेम्बरमा यसको स्थापना गरिएको थियो ।

नाम चलेका बैंकहरू नै गलत आर्थिक कारोबारमा मुछिएपछि सरकारले नयाँ कानुनको घोषणा गरेको छ । जसमा आफ्नो पदको दुरुपयोग गरेर आर्थिक लाभ लिएको र ग्राहकलाई गलत आर्थिक सल्लाह दिएको पाईएमा १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था लागू गरिएको छ ।

यसैगरी २ सय मिलियन (करिब १ अर्ब ६ करोड रुपैयाँ) अथवा कम्पनीको १० प्रतिशत वार्षिक आम्दानी जरिवानास्वरूप बुझाउनुपर्ने नियम राखिएको छ ।

यसैगरी कम्पनीले नियमित रूपमा विवरण बुझाउनुपर्ने सरकारी निकाय एसिकलाई गलत जानकारी उपलब्ध गराएको खण्डमा ५ वर्षसम्मको जेल सजायको व्यवस्थासमेत लागू गरिएको छ ।

रोयल कमिसनमा अस्ट्रेलियाको सर्वाेच्च अदालतमा पूर्वन्यायाधीश केनेथ हायनको संयोजकत्वमा करिब आधा दर्जन विज्ञ सहभागी छन् । कमिसनले करिब दुई साताअघिदेखि यस प्रक्रियामा दोस्रो पटक सुनुवाइ सुरु गरेको छ ।

जसको अन्तिम रिपोर्ट आगामी वर्ष सरकारलाई बुझाइनेछ । अस्ट्रेलियाका ट्रेजरर स्कट मरिसनले अहिले पत्ता लागेका तथ्यहरू अपत्यारिला भएको प्रतिक्रिया दिएका छन् ।