काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताएका छन् ।
धनगढी विमानस्थलमा मंगलबार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिडेर अधिनायकवाद लाद्न खोजिए काँग्रेस सडकमा ओर्लन बाध्य हुने स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापले राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैले देखिसकेको आरोप लगाए । चुनावमा पार्टी पराजयका बारेमा सोधिएको प्रश्नको जवाफमा सभापति देउवाले पराजयपछि कार्यकर्ताको मनोबल नखस्किएको दाबी गर्दै दुई पार्टी एक भएर चुनाव लडेको र पार्टीभित्रै अन्तरघात भएकाले चुनावी नतिजा सोचेअनुसार आउन नसकेको स्पष्ट पारे ।
पदाधिकारी मनोनयनबारे सोधिएको प्रश्नको जवाफमा उहाँले यही वैशाख २१ गते बस्ने बैठकपछि पदाधिकारी नियुक्त गरिने संकेत गर्नुभयो गरे । कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्न देउवा धनगढी पुगेका हुन् ।
प्रतिक्रिया