काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्तावका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थागित भएको छ । सभापति देउवाले आन निर्वाचित केन्द्रीय समितिको बैठकमा पदाधिकारी मनोनयनको प्रस्ताव गर्ने तयारी गरेका थिए ।
तर, पौडेल समूहको असहमति र आफु निकट पाँच केन्द्रीय सदस्य काठमाडौं बाहिर भएका कारण बैठक चार दिनका लागि स्थगित गरिएको हो । अब कांग्रेस बैठक २१ गते दिउँसो २ बजे बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । देउवा निकट प्रदीप गिरि, रमेश लेखक, पार्वति डिसी चौधरी लगायत पाँच केन्द्रीय सदस्य काठमाडौं बाहिर छन् ।
कांग्रेसमा महाधिवेशन भएको २६ महिना पुगिसके पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । कांग्रेस विधानमा भने महाधिवेशन सकिएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्ने व्यवस्था छ । मनोनित पदाधिकारीको नाम सभापतिले प्रस्ताव गर्ने र निर्वाचित केन्द्रीय समिति सदस्यहरुको बैठकले अनुमोन गर्नुपर्ने बैधानिक व्यवस्था छ ।
पाँच केन्द्रीय सदस्य काठमाडौं बाहिर भएकाले प्रस्तावित पदाधिकारीको नाम अनुमोदनमा समस्या पर्ने भएकाले देउवाले बैठक सारेको बताइएको छ । विधानअनुसार सभापतिले पदाधिकारीमा उपसभापति र महामन्त्री एक–एक जना तथा सहमहामन्त्री दुई जना मनोनित गर्न पाउँछन् ।
प्रतिक्रिया