काठमाडौं । निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णयसहित एक महिनाभन्दा बढी समयदेखि चलिरहेको कांग्रेस बैठक आइतबार टुंगिएको छ । बैठकले चुनावी हारको खास कारण वाम गठबन्धन रहेको निष्कर्ष निकाल्दै आगामी भदौमा पार्टी महासमिति र जेठ अन्तिमसम्म जिल्ला सभापति भेला गर्ने निर्णय पनि गरेको छ । बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार विधानविपरीत गठन भएका समितिहरू भंग गरिएको छ । जसअनुरूप कार्यसम्पादन समिति र संसदीय समिति अब अस्तित्वमा रहने छैनन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बैठकको निर्णय बहुमत निर्णय रहेको तर यसमा आफ्नो असहमति रहेको प्रतिक्रिया दिएका छन् । उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘बैठकअघि सभापति शेरबहादुर देउवासँग भएको सहमतिअनुसार निर्णय आएनन् ।’ नेता पौडेलले चुनावी हारको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने मत राख्दै आइरहेका छन् । उनको यही मतका कारण शनिबार बस्ने भनिएको बैठक आइतबार साँझ मात्रै सुरु हुन सक्यो । त्यसअघि पार्टी सभापति देउवा र पौडेलबीच बैठकलाई निष्कर्षमा पु¥याउने भन्दै पार्टी कार्यालय सानेपामा अनौपचारिक छलफल भएको थियो ।
बैठकको उत्तरार्ध शृंखलामा संक्षिप्त भनाइ राख्दै सभापति देउवाले यसअघिका सबै कमीकजोरीलाई बिर्सेर पार्टीभित्र एक भई अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । बैठकमा उठेका सबै कुरालाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले सबैको मागअनुरूप नै समितिहरू भंग गरिएको जानकारी दिए । यसअघि सभापति देउवा संसदीय समिति मात्र विघटनको पक्षमा थिए । तर, बैठकमा गगन थापालगायत युवा नेताले विधानविपरीत गठन गरिएका सबै समिति भंग नगरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने मत राखेपछि सभापति देउवा यस्तो निर्णयमा पुगेका हुन् ।
सोही बैठकमा महामन्त्री शशांक कोइरालाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै बैठकका निणर्य पेस गरेका थिए । शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल र विजय गच्छदारले समकालीन राजनीति र पार्टीको राजनीतिक ताकतबारे प्रश्न उठाएपछि सभापति देउवाले महामन्त्री कोइरालालाई पौडेल पक्षको समेत सहभागितामा निर्णय प्रतिवेदन तयार पार्न निर्देशन गरेका थिए । प्रतिवेदन लेख्ने काममा महामन्त्री कोइरालासँगै सभापतिको प्रतिनिधिका रूपमा प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेलको प्रतिनिधिका रूपमा नवीन्द्रराज जोशी सहभागी भएका थिए । लामो समयसम्म पटक–पटक भएको बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भएपछि सभापति देउवाले केन्द्रीय पदाधिकारी मनोनयनको तयारी गरेर आफू सन्तुलनमा रहने रणनीति बनाइरहेका छन् । अन्नपुर्णपोष्टमा समाचार छ ।
प्रतिक्रिया