देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्द्रीय समिति बैठकमा पौडेलका ५२ मिनेट सभापतिज्यू, हारको जिम्मेवारी भागबन्डामै लिनुुस्

देशान्तर

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तीनै तहको निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी भागबन्डामै लिन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

भागबन्डाको विषयलाई संस्थापन पक्षले कडा रूपमा जारी केन्द्रीय समिति बैठकमा उठाएपछि १२औं दिन शुक्रबार मुख खोलेका नेता पौडेलले सभापति देउवालाई स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको पराजयको जिम्मा भागबन्डामै लिन प्रस्ट सुझाव दिए ।

उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘नेतृत्व गरेका हिसाबले सभापतिज्यू, तपाईंले आफ्नो भागमा पर्ने र नेता भएकाले मैले पनि मेरा भागमा पर्ने पराजयको जिम्मेवारी लिनुपर्छ ।’ पार्टीले राम्रो परिणाम ल्याउँदा जस पनि देउवाले नै लिने भएकाले अपजसको जिम्मेवारी लिन तयार रहनुपर्ने पौडेलको भनाइ थियो ।

झन्डै ५२ मिनेट लामो धारणा राख्दै पार्टी सुदृढीकरणका लागि वैशाखमा जिल्ला सभापतिहरूको भेला आयोजना गर्नुपर्ने, जेठभित्रै महासमिति बैठक बोलाउनुपर्ने र पार्टीको प्रशिक्षण अभियानलाई व्यापक बनाउन पौडेलेको सुझाव थियो ।

शुक्रबारको बैठकमा नेता विजयकुमार गच्छदारले आफू पुरानै घर फर्किएको भन्दै उचित मूल्यांकन गर्न भनेका छन् ।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम शनिबार सम्पन्न हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । पराजय पछाडिको कारणको समीक्षा गर्न भन्दै ९ चैतदेखि डाकिएको बैठकमा ७० भन्दा बढी नेताहरूले बोलिसकेका छन् ।

१३ दिनसम्म चलेको बैठकको निष्कर्ष सभापति देउवाको जवाफसँगै सम्पन्न हुनेछ । बैठकमा बोल्ने अधिकांश नेताहरूले निर्वाचनमा पराजयको कारण पार्टी सभापति नै रहेको आरोप लगाएका थिए । निर्वाचनका बेला वाम शक्तिहरूबीचको चुनावी तालमेललाई नै हारको कारण भन्दै नेतृत्वको बचाउ गरेका थिए । देउवा पक्षका नेता विमलेन्द्र निधिले चुनावका बेला भागबन्डा खोज्ने र पराजयपछि दोष जति सभापतिलाई थोपर्न नहुने भन्दै सबैले जिम्मेवारी लिनुपर्ने बताए ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार शनिबार बैठक निष्कर्षमा पुग्नेछ । उनले राजधानीसँग भने, ‘केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ, उठेका विषयमाथि सभापतिले धारणा राख्नुहुनेछ, महामन्त्रीले निर्वाचनमा भएको पराजयको निष्कर्ष राखेपछि बैठक समापन हुनेछ ।’

प्रवक्ता शर्माले बैठकको १३औं दिन निर्वाचनमा भएको हारको काजकिरिया गरेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न थप ऊर्जासहित सम्पन्न हुने बताए । ९ चैतबाट सुरु भएको बैठक एक सातामा १६ चैतमा नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित थियो । बैठकमा प्रायः नेताहरूले लिखित प्रस्तावसहितका धारणा राखेका थिए ।

कांग्रेस नेतृत्वका सरकारले गरेको जनचाहनाविरूद्धका निर्णय, सहयात्री दललाई फकाउन नसक्नु, टिकट वितरणमा भएको कमजोरी, अलोकप्रिय व्यक्तिलाई टिकट, पार्टीभित्रको गुटबन्दी, टिकट नपाएकाहरूको अन्तर्घात, लोकप्रिय एजेन्डा दिन नसक्नु जस्ता विषय हारको कारण भएको नेताहरूले उठाएका थिए ।

देउवाले भने हारको कारण वाम शक्तिहरूबीचको तालमेल भएको प्रस्ट्याएका थिए । कांग्रेसको मत नघटेको उनको जिकिर थियो ।

महासमिति र जिल्ला सभापति भेला बोलाइने

काठमाडौं / रास– कांग्रेस एक ढिक्का भएको सन्देश दिन महासमिति बैठकको मिति र जिल्ला सभापतिहरूको भेला तय हुने भएको छ । केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई संगठित बनाउन रणनीति पनि बैठकले तय गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति मितिदेखि जिल्ला सभापतिहरूको भेला गरेर स्थानीय तहसम्म नै पार्टीका कार्यक्रम तयार हुने बताए । नयाँ संविधानअनुसार संघीय संरचनामा पार्टीलाई अघि बढाउन विधान परिमार्जन समिति गठन हुने उनले बताए ।

केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले विधान संशोधनका लागि समिति बन्ने जनाए । महासमिति बैठक चाँडोभन्दा चाँडो राख्ने तयारी भएको डा. महतले बताए ।

नेता मीन विश्वकर्माले साउनको पहिलो सातासम्म बैठक हुने गरी मिति तोकिने सम्भावना रहेको बताए । विश्वकर्माले भने, ‘साउनको पहिलो सातातिर महासमिति बैठक हुने सम्भावना छ, तयारीका लागि समय राखेर मिति तोकिन्छ ।’

कांग्रेस विधानमा महाधिवेशन भएको वर्षबाहेकका प्रत्येक वर्ष महसमिति बैठक डाक्नुपर्ने व्यवस्था छ । महधिवेशनको २६ महिनासम्म पनि महासमिति बस्न सकेको छैन ।

यसैबीच, मनोनीत पदाधिकारी अर्को बैठकबाट प्रस्ताव गरिने भएको छ । केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेर पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाइने स्रोतले बतायो ।

कांग्रेस विधानमा निर्वाचित केन्द्रीय सदस्यबाटै महाधिवेशन सकिएको दुई महिनाभित्रै रिक्त पदाधिकारी मनोनीत गर्नुपर्ने व्यवस्था छ । विधानअनुसार पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक जना सहमहामन्त्री मनोनीत गर्न पाउँछन् । राजधानी