काठमाडौं । भक्तपुरको चाँगुनारायणमा संचालन भइरहेको नेपाल इन्जिनियरिङ कलेज संचालकहरुका बीचमा चरम विवाद देखिएको छ । यो विवादसंगै सो कलेजमा व्यापक अनियमितता भएको तथ्य पनि सार्वजानिक भएको छ । संचालकहरुका बीचमा विवाद हुँदा अहिले कलेजको खातामा पैसा जम्मा हुन छोडेको छ भने शिक्षकहरुलाई तलब खुवाउन समेत समस्या देखिएको छ । संचालकहरुका बीचको विवादका कारण अहिले अध्ययन गरिरहेका झण्डै २२ सय बिद्यार्थीहरु अन्यौलमा परेका छन् ।
सामाजिक संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर संचालन भएको सो कलेज गैर– मुनाफा मुलक संस्थाका रुपमा संचालन भएको थियो । २०६० सालमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्तापछि नेपाल इन्जिनियरिङ कलेज एक पटक पनि नविकरण भएको छैन् ।
कलेजका संचालक मध्ये केहिले २०७४ सालमा कम्पनि रजिष्टारको कार्यालयमा नीजि कम्पनीमा दर्ता गरेपनि संचालकहरु दुई कित्तामा विभाजित देखिएका हुन् । कम्पनी रजिष्टारको कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्रालिका नाममा दर्ता भएको सो कम्पनीले इन्जिनियरिङ कलेजको चल अचल सवै सम्पतिको स्वमित्व लिने बैधानिक व्यवस्था गरेपछि संचालक मध्येका प्रा डा दिपकप्रसाद भट्टराई, हरि पाण्डे, ई. सलिल भट्टराई र चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र नीजि कम्पनीमा परिणत गर्न नदिने पक्षमा देखिए । तर सो समयका संचालक समितिका अध्यक्ष लम्बोदर न्यौपाने, सुर्यबहादुर केसी, लबराज भट्टराई, रामरत्न उपाध्याय र डा उपेन्द्र गौतम नीजि कम्पनीमा रुपान्तरण गर्ने तथा पोखरा विश्वविद्यालयसंगको सम्बन्ध तोडेर मध्यपश्चिम विश्वविद्यालयमा सम्बन्धन जोड्ने पक्षमा देखिएपछि विवाद सतहमा आएको थियो ।
क्याम्पसका संचालक तथा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रका अनुसार संचालक समितिका अध्यक्ष न्यौपाने लगायतका संचालकहरुले कलेजको खाता कब्जा गरेको तथा कलेजले संचालन गरेका खाता समेत राष्ट्रबैंकका उपल्लो निकायका पदाधिकारीको शक्ती प्रयोग गरि बन्द गरेको बताए । क्याम्पसका प्रशासनका अनुसार कलेजको खातामा जम्मा भएको र खाताबाट निकालिएको झण्डै ३३ करोड रुपैयाको हिसाब कलेजसंग छैन् । अहिले कलेजलाई कम्पनीमा लैजाने पक्षधर संचालकहरु कलेजमा उपस्थित हुँदैनन् । तर बाहिर नै बसेर कलेजको आर्थिक कामकारवाही संचालनमा हस्तक्षेप गर्ने गरेका कारण समस्या उत्पन्न भएको मिश्रको भनाई छ ।
तर सो समयमा नेपाल बिद्यार्थी संघको आन्दोनका कारण कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको कम्पनी खारेज भएको थियो । अहिले कम्पनि खारेज भएपनि कलेजलाई कम्पनीमा रुपान्तरण गर्ने समुहका संचालकहरुका कारण कलेजमा समस्या सुरु भएको छ । नेपाल बिद्यार्थी संघ पोखरा विश्वविद्यालय समन्वय समितिले आज पत्रकार सम्मेलन आयोजना गरि कलेजको अहिलेको अवस्थाका बारेमा जानकारी गराउनुका साथै आन्दोनका कार्यक्रम समेत घोषणा गरेको छ । नेपाल बिद्यार्थी संघ पोखरा विश्वविद्यालय समन्वय समिति संयोजक एंव केन्द्रीय सदस्य नवराज त्रिपाठीले नेपाल इन्जिनियरिङ कलेजलाई तत्काल नविकरण गर्नुपर्ने, सामुदायीक कलेजलाई नविकरण गर्ने संचालकहरुलाई बर्खास्त गर्नुपर्ने, संचालकहरुले बाँडेको मुनाफा फिर्ता गर्नुपर्ने, बिद्यार्थी संगठनलाई वितरण गर्ने भनि संचालक समितिका सदस्यहरुले हिनामिना गरेको ८ करोड पच्चिस लाख रुपैयाको हिसाब पारदर्शी बनाउनुपर्ने, कलेजलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने, शुल्क पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस सरह बनाइनुपर्ने लगायतका माग राखी आन्दोलन थालेको जानकारी दिए ।
कलेजका संचालक समितिका बहुमत सदस्यहरुले विद्यार्थी संगठनले बन्द हडताल, तथा पैसाको बार्गेनिङ गर्ने भएकाले विद्यार्थी संगठनलाई दिनका लागि भन्दै २०७० साल माघ १८ गतेको बैठकले बार्षिक एक करोड ५० लाख रुपैया बील भरपाई दखाउनु नपर्ने गरि बिद्यार्थी संगठनलाई बाँड्ने गरि संचालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेलाई दिने निर्णय भएको थियो । कलेज संचालक समितिको यो निर्णयमा नेपाल बिद्यार्थी संघले गम्भिर आपत्ती जनाएको छ । नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य त्रिपाठीले सो रकमको हिसाब पारदर्शी हुनुपर्ने बताउदै बिद्यार्थी संगठनलाई बदनाम गराउन खोजेको भन्दै आपत्ती जनाए ।
बहुमत सदस्यहरुको निर्णयद्धारा गैरनाफामुलुक संस्थाका रुपमा संचालनमा रहेको कलेजबाट २०७३ साल फागुन २० गतेको संचालक समितिको बैठकको निर्णयद्धारा प्रत्येक संचालकलाई एक करोड पचास लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यो सो रकम संचालक मध्येका हरिप्रसाद पाण्डे र सलिल भट्टराईले भने लिएनन् । अन्य संचालकले सो रकम लिएको कलेज प्रशासनले जनाएको छ ।
नेपाल बिद्यार्थी संघले यी माग तत्काल पूरा नभए आन्दोलनको घोषणा समेत गरेको छ । बैशाख १९ गते पोखरा विश्वबिद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाउने, १९ गते नै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, २० गते नेपाल इन्जिनियरिङ कलेज प्रालि दर्ता गर्ने कम्पनी रजिष्टार कार्यालयका तत्कालिन सहायक रजिष्टार, क्याम्पस संचालकहरुका विरुद्ध अख्तियारका मुद्दा दर्ता गर्ने, २० गते नै शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, २१ गते गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने आन्दोलनका कार्यक्रम नेविसंघले तय गरेको छ । यसपछि पनि कलेजको समस्या समाधान नभएमा कलेजमा उपस्थित नहुने संचालक समितिका सदस्यहरुको घर घरमा सामाजिक बहिष्कारको आन्दोलन सहित धर्ना दिने नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य त्रिपाठीले जानकारी दिए ।
प्रतिक्रिया