काठमाडौं । आज नेपाली कांग्रेस निकटको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघको स्थापपना दिवस । नेपाल बिद्यार्थी संघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो । तत्कालिन अवस्थामा राजनीति दलमाथि प्रतिबन्ध लगाएर पंचायती राज चलेको अवस्थामा काँग्रेसले प्रजातन्त्रको लडाईलाई अगाडि बढाउनका लागि प्रजातन्त्रवादी बिद्यार्थीलाई संगठित गर्दै २०२७ साल बैशाख ६ गते नेपाल बिद्यार्थी संघको स्थापना गरिएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर नेपाललाई संघीय गणतन्त्रात्मक नेपाल बनाएको छ । प्रजातान्त्रिक आन्दोलनको यो कालसम्म आइपुग्दा विद्यार्थी राजनीतिको भूमिका अतुलनीय रहेको कुरा नकार्न सकिँदैन ।
नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर धेरै परिवर्तनको अनुभूति गर्न सक्यो । चाहे ‘जयतु संस्कृतम्’ को नामबाट होस् या त त्यसपछि भाँचिएका विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित विद्यार्थी संगठन नै किन नहोस् । परिवर्तनकारी आन्दोलनलाई उत्कर्षमा पु¥याउने र परिवर्तनलाई संस्थागत गर्नका लागि नेपाली बिद्यार्थीहरुको योदान स्मरणीय छ ।
पञ्चायती शासनमा पिल्सिएका नेपालीहरू र त्यसमा पनि जागरूक विद्यार्थीहरूले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको देखिन्छ । त्यसँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो । यसैबाट नेपाल विद्यार्थी संघले औपचारिक जन्म पायो । जसले प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्रसम्ममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
जयतु संस्कृतम् अहिलेका विद्यार्थी संगठनको एउटा पृष्ठभूमि काल मात्रै हो । तात्कालीन समयमा दरबारमार्गमा रहेको तीनधारा संस्कृत छात्राबासमा रहेका विद्यार्थीहरूले राणा विरोधी आन्दोलनलाई उत्कर्षमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
२००४ साल असार १ गते गठन भएको विद्यार्थीहरूको संगठन नेपाली इतिहासमा पहिलो विद्यार्थी संगठनको हिसावले चिनिन्छ । त्यतिबेला संस्कृत पढ्नेहरुको बसोबास रहेको सो छात्राबासमा जो कोहीले आन्दोलन गर्दापनि प्रहरी हस्तक्षेपको खासै डर थिएन । एकातिर नेपाली काँग्रेसले सशस्त्र आन्दोलन चलाईरहेको थियो भने विद्यार्थीहरूले सरकारी भात खाएर नै सरकार विरूद्ध आन्दोलनको आँधिबेरी चलाईरहेका थिए । उनीहरूले गरेको गल्तीमा मृत्युदण्ड दिने प्रचलन नभएकोले पनि जतिसुकै आन्दोलन गर्दापनि कडा कारबाहीको डर नभएपछि धेरै भन्दा धेरै विद्यार्थीको सहभागिता भयो । अन्ततः विद्यार्थीको संलग्नताको केही समयपछि आन्दोलनले पूर्णता पनि पायो । तात्कालीन समयमा स्वतन्त्रता प्राप्तिको भनेर नै आन्दोलन केन्द्रित नभएको भएपनि पछि उनीहरू विस्तारै स्वतन्त्रता प्राप्तिको लागि आन्दोलन केन्द्रीत हुँदै गयो । त्यतिबेला संस्कृत मात्रै पढ्दै आएका विद्यार्थीहरूले भूगोल, इतिहास र नागरिक शास्त्र लगायतका विषय पढ्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरू गरेका थिए । यसैमा केन्द्रीत भएका वि सं २००५ मा त्रि–चन्द्र क्याम्पसका विद्यार्थीहरूले नेपाल छात्र संघ नामक विद्यार्थी संगठन खोली आफ्नो शत्तिःलाई प्रजातन्त्र प्राप्तिमा केन्द्रीत गरेका थिए ।
त्यससँगै वि सं २०१५ सालको आम निर्वाचनमा पनि नेपाली काँग्रेसलाई दुई तिहाई बहुमतको पार्टी बनाउन र २०१४ सालमा जनतालाई राणाहरूको क्रु शासनको अन्त्य गराउन पनि तात्कालिन समयमा प्राजातान्त्रिक विद्यार्थीहरूको भूमिका अहम् रहेको देखिन्छ । त्यसपछि वि सं २०१७ सालमा तात्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरूवात गरेपछि पनि प्रजातान्त्रिक विद्यार्थीहरू त्यसविरूद्ध लडि रहे । यसैलाई नेविसंघको पृष्ठभूमिकालको रूपमा लिन सकिन्छ ।
प्रतिक्रिया